हेल्थ टुडे,
काठमाडौं, २८ साउन : नेपालमा मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका रहेको पाइएको छ । नेपाल सरकारको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष करिव ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । यस हिसाबले हेर्ने हो भने हरेक वर्ष वैदेशिक रोजगारीबाट फर्किएका मध्ये एक हजार जनाको मिर्गौला फेल हुने गरेको पाइएको छ । वरिष्ठ अंग प्रत्यारोपण सर्जन एवं शहिद धर्मभक्त रा. प्रत्यारोपण केन्द्रका पुर्व कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले विश्व अंगदान दिवसको अवसरमा स्वास्थ्य अभियान नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोगजारीबाट फर्किएका नागरिकमा मिर्गौला फेल हुने दर डरलाग्दो रहेको बताएका हुन ।
वर्षमा करिव ३ हजार जनाको मुटु फेल हुने र एक हजार जतिको कलेजको फेल हुने गरेको तथ्यांक प्रस्तुत गर्दै डा. श्रेष्ठले हरेक व्यक्तिले मिर्गौला लगायत शरीरका विभिन्न अंग फेल हुन नदिने उपाय नअपनाउने हो भने त्यसले भयाभव अवस्था सिर्जना गर्ने दावी गरे । मस्तिष्क मृत्यु पछि अंगदान गर्नेको संख्या बढ्न नसकेको बताउदै करिव एक दशकको अवधिमा मात्र मस्तिष्क मृत्यु भएका मात्र ९ जनाको अंग निकालेर २५ जनामा प्रत्यारोपण गरेर नयाँ जिवन दिन सकेको डा. श्रेष्ठले बताए । दुई दशक अगाडिसम्म विश्व स्वास्थ्य संगठनले नेपालमा मिर्गौला फेल भएकाहरु मध्ये ९० प्रतिसतको मृत्यु हुने अवस्था रहेको बताएको तर दुई दशकपछि नेपालमा त्यसको ठिक उल्टो ९० प्रतिसत मिर्गौला फेल भएका विरामी बाच्ने अवस्था आएकोमा डा. श्रेष्ठले खुशी व्यक्त गर्दै अहिलेसम्म नेपालमा करिव ३ हजार जनाको मिर्गौला र ७५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले शरीर भित्र रोग लाग्नै नदिन रोग भन्दा आफु बाठो हुनु आवश्यक रहेको बताए । वरिष्ठ स्त्री तथा प्रसुति रोग विज्ञ डा. भोला रिजालले अंग प्रत्यारोपणका क्षेत्रमा नेपालमा पछिल्ला दशकमा निकै प्रगति भएको र त्यसको श्रेय डा. पुकारलाई जाने दाबी गरे । कार्यक्रममा वीर अस्पताल न्युरो सर्जरी विभागका विभागिय प्रमुख डा. राजिव झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, उपत्यका टाफिक प्रहरी प्रमुख सुरेश अर्याल, गोर्खापत्र दैनिकका सम्पादक जुनारवावु बस्नेत लगायतले मस्तिष्क मृत्यु पछिको अंगदानका विषयमा व्यापक जनचेतना विस्तार गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रम अंग प्रत्यारोपण गरेका व्यक्तिहरुले आआफ्नो अनुभव सुनाएका थिए ।
े







Leave a Reply