सन्ध्या केसी
हाम्रो समाजमा एउटा विश्वासले जरा गाडेको छ, भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण) गरेपछि यौन सम्पर्क गर्दा आनन्द आउदैन् । त्यसैले भ्यासेक्टोमी गर्नु भन्दा पत्नीलाई ल्याप्रोस्कोपी गराउन ठिक हुन्छ । तर चिकित्सकहरु यो धारणालाई सरासर गलत भन्छन । उनीहरुको मान्यता छ, भ्यासेक्टोमी गरेपछि पनि यौन आनन्दमा कुनै कमि आउदैन । यो परम्परागत धारणा मात्र हो ।
यौन तथा प्रजनन् स्वास्थ्य विज्ञ डा. विराज महर्जनका अनुसार भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नली काटेर बाध्ये गरिन्छ । यौनआनन्दको सम्बन्ध अण्डकोषबाट निकाल्ने टेस्टेस्टेरोन हर्मोनसँग हुन्छ, जुन रक्त सञ्चारको माध्यमबाट आफ्नो गन्तव्यतिर पुगिहाल्छ । त्यसैले यौन आनन्दमा त्यसले कुनै तलमाथि नपार्ने डा. महर्जनको दावी छ । महिलाको ल्याप्रोस्कोपी गर्नु भन्दा पुरुषले गर्ने भ्यासेक्टोमी सजिलो र प्रभावकारी भए पनि अधिकांश पुरुष यौन आनन्द घट्छ की भन्ने भयले भ्यासेक्टोमी गराउन मान्दैनन् । चिकित्सकहरुका अनुसार भ्यासेक्टोमी गरेपछि पुरुषको शक्तिमा कुनै कमि आउदैन । ढाड दुख्ने जस्ता कुनै समस्या नआउने उनीहरुको दाबी छ । पछि सन्तानको चाहना भए पुन खोल्न सकिने भएकाले भ्यासोक्टोमीलाई बढावा दिनु पर्नेमा नेपालमा यसको ठिक उल्टो भइरहेको चिकित्सकहरुको दावी छ ।
स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको जनसाख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार १५ देखि ४९ वर्ष उमेरसमूहका महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा सेवाहरू प्रयोग गरिरहेका छन् । तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधिको प्रयोग गरिरहेका छन् । सबैभन्दा बढी प्रयोग हुने साधनमा महिला बन्ध्याकरण १५ प्रतिशत, तीनमहिने सुई ९ प्रतिशत, पुरुष बन्ध्याकरण ६ प्रतिशत, खानेचक्की ५ प्रतिशत, कण्डम ४ प्रतिशत, इम्पलान्ट ३ प्रतिशत र आईयूसीडी १ प्रतिशत छ । आधुनिक परिवार नियोजनका साधन प्रगोग गर्नेको तुलनामा परम्परागत विधिको प्रयोग गर्नेको संख्या बढ्दो छ । १९९६ मा ६ प्रतिशत रहेको यो विधि अहिले १० प्रतिशत पुगेको छ । तर आधुनिक साधनको प्रयोग गर्ने २९ प्रतिशत बल्ल ४३ प्रतिशत पुगेको छ । पढेलेखेका महिलाभन्दा नपढेका महिलाले परिवार नियोजनका साधन बढी प्रयोग गर्ने गरेको पाइएको छ । पढेका महिला (एसएलसीभन्दा माथि) मध्ये ३४ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन् भने नपढेकामध्ये ५२ प्रतिशतले साधन प्रयोग गर्ने गरेका छन् ।
Leave a Reply