केशर कार्की,
कुनै समय थियो, मानिसहरू खाना नपाएरै मर्थे । अहिले जमाना फेरिएको छ । अचेल मानिसहरू ‘बढी खाएर’ नजानिँदो किसिमले ज्यान गुमाइरहेका छन् । अर्थात् आधुनिकतासँगै मानिसको खानपान र रहनसहनले उसभित्र अनेक रोगको बीउ रोपिने गरेको छ ।
केही दशक अगाडिसम्म अहिलेको जस्तो खानपानमा विविधता थिएन । खानेकुरामा मानिसको सहज पहुँच पनि थिएन । भए पनि आर्थिक सामथ्र्यले भ्याउँदैनथियो । परिवर्तित समयसँगै यतिबेला प्रायजसो सहरिया मानिसको आधुनिक परिकारमा पहुँच भएको छ । गाउँघरको परिवेश छोडेर सहरियामा बन्ने होडबाजी जारी छ । सुविधाभोगी सहरिया जीवनले शारीरिक अभ्यासलाई पछाडि धकेलिदिएको छ । यही अनियन्त्रित खानपान र जीवनशैलीले हिजोआज ठूलो संख्यामा मोटोपनको समस्या बढ्दै गएको छ । मद्यपान धूमपान र जंकफुडको चंगुलमा विश्व नै परेको छ । कुन खाना कति खाने, केका लागि खाने, कसरी खाने, कति बेला खाने र किन खाने भन्ने कुराको हेक्का नराख्दा र हेक्का राखे पनि तिनलाई व्यवहारमा लागू गर्न नसक्दा मोटोपनको समस्या बढ्दै गएको विज्ञहरू बताउँंछन् ।
अहिले विश्वमा मानिसको मृत्युको प्रमुख कारण पनि यही अनियन्त्रित खानपान हुने गरेको तथ्यांकहरूले प्रमाणित गरेको छ । हिजोआज मोटोपन पनि नसर्ने रोगहरूको प्रमुख कारकका रूपमा देखिएको छ । आधुनिक युगमा ८० प्रतिशत मानिस खाएरै मर्छन् । १० प्रतिशत हर्मोनका कारण र बाँकी १० प्रतिशत मानिसको ज्यान वंशानुगत रोगका कारण जाने गरेको छ विज्ञहरूको दाबी छ । हामीले खानपान र जीनवशैलीबीच तालमेल मिलाउन नसकेपछि यो अवस्था आएको हो । सहरमा पाइने अधिकांश खानेकुरा विषादीयुक्त हुनु, खाद्यान्नमा मिसावट हुनु र त्यस्तो किसिमका उपभोग्य वस्तुप्रति सचेत नभइकनै उपभोग गर्नुले मोटोपन बढ्दै गइरहेको छ ।
हामीले अहिले अपनाइरहेको जीवनशैली पनि हाम्रै लागि घातक भएको विश्व स्वास्थ्य संगठनको ठहर छ । जन्मँदै मानिस सुविधाभोगी भएर जन्मने, ऐसआराममा प्यासी हुने र दुःख गर्नै नरुचाउने । अनि अबेर राति सुत्ने र अबेर बिहानसम्म उठ्ने कारणले पनि मानिसमा मोटोपन बढ्दै गएको पाइएको छ । अनियन्त्रित खानपान र अव्यवस्थित जीवनशैलीकै कारण १२ वर्षकै बालक पनि सय किलोग्रामसम्मको हुने गरेका छन् । मोटोपन भएका व्यक्तिमा यौन क्षमता कम हुने विभिन्न अध्ययनहरुले देखाइको छ । यौन सम्पर्क गर्न रुची नलाग्ने, सुविधा जनक ढंगले यौन सम्पर्क राख्न नसक्ने र एक दुई पटकमै थाक्ने जस्ता मोटोपन भएका व्यक्तिमा समस्या हुने गरेको उक्त अध्ययनले देखाएको छ । मोटोपनको समस्याबाट वर्तमानमा कोही अछुतो देखिँदैन । प्रौढमात्र होइन बालक, युवा सबैमा यो समस्या देखिएको छ । स्वास्थ्य सुविधा बढेपछि अस्पताल छँदैछ नि भन्ने मानसिकतामा विकास भइरहेको छ हिजोआज । जसको परिणाम मानिसले आफैं अपनाउन सक्ने स्वास्थ्यसम्बन्धी सावधानीसमेत अपनाउनमा लापरबाही गर्ने गरेको पाइएको छ । पोषणविद् प्राडा उमा कोइराला भन्छिन्, ‘धेरै मोटोपन रोगहरूको घर हो भन्ने कुरा मानिसले हेक्का नै नराखेका कारण जीवनमा अनेक रोगले मानिसलाई गाँज्दै लगेको छ ।’ मोटोपनकै कारण मधुमेह, उच्च रक्तचाप, बाँझोपन, नसा च्यापिने, कब्जियत, थाइरोइडलगायतका समस्या बढेदै गएको डा. कोइरालाको ठहर छ ।
मोटोपन घटाउने नाममा हिजोआज सहरमा अनेक नाम राखेर स्लिमिङ सेन्टर स्थापना भएका छन् । यस्ता सेन्टरहरूले विभिन्न मिडियामा विज्ञापन प्रकाशन प्रसारण गरेर आआफ्नै खालको डम्फु बजाउने गरेका छन् । यिनीहरूमध्ये एउटाले मोटोपन घटाउन डाइटिङ गर्नुस् भन्छ त अर्कोले डाइटिड नगरेरै घटाउन सकिन्छ । तेस्रोले मेसिनबाट घटाउन सुझाउँछ । फेरि अर्कोले हामीले उपलब्ध गराएको खाना खानुस् र घटाउनुस् भन्छ । केहीले भन्छन्, हाम्रोमा आएर शारीरिक अध्यास गर्नुस् । कस्को कुरा पत्याउने वा कस्को कुरा नपत्याउने भन्नेमा मानिस झन् दोधारमा परेका छन् । विभिन्न किसिमका सेन्टरका अनेक किसिमका सुझाव र विज्ञापनले मोटोपनको समस्यामा परेकाहरू झन् दिग्भ्रमित बनेका छन । कता जाने र नजानेको अवस्थामा उनीहरू देखिन्छन् ।
मोटोपनको समस्या झांगिँदै गइरहेको भए पनि नेपालका अस्पतालमा न मोटोपन घटाउने विशेषज्ञ छन् न त आधुनिक प्रविधि नै । अस्पतालहरूमा डाइटिसियनको दरबन्दी हुन्छ तर ती डाइटिसियन नै ९० देखि एक सय २० केजीसम्म तौल भएका भेटिन्छन् । मोटोपनको समस्या लिएर उनीहरू कहाँ पुगेपछि ‘मै त मोटो छु मैले कसलाई भन्ने’ जस्ता जवाफ पाइने गरेको सेवाग्राहीको गुनासो छ ।
Leave a Reply