हेल्थ टुडे
काठमाडौं : सिटामोल समेत छैन् स्वास्थ्य संस्थामा, सिटामोल समेत दिन सकेन सरकारले, सिटामोल समेत पाएनन् विरामीले । यी र यस्तै समाचार विभिन्न सञ्चार माध्यममा आइरहन्छन । तर वास्तविकता के हो भने सिटामोलको उत्पादन बन्द भएको ७ वर्ष भइसकेको छ । आर्थिक अवस्था खस्केको नेपाल औषधि लिमिटेडले जिएमपी मापदण्ड पुरा गर्न नसकेपछि २०६७ साल देखि नै सिटामोलको उत्पादन बन्द भएको थियो ।
तर उसले उत्पादन गर्ने सिटामोलको नाम भने हरेक नेपालीको जनजिव्रोमा झुण्डिइ नै रह्यो । टाउको दुखेको, ज्वरो आएको जस्ता समान्य रोगको उपचारका लागि सिटामोल नेपाली औषधिको ब्राण्ड नै बनेकाले सञ्चारकर्मीहरुले पनि औषधि अभावको सट्टा सिटामोल लेख्ने गरेका छन् । तर अब भने साच्चिकै त्यो सिटामोलको उत्पादन फेरि सुरु हुने भएको छ । नेपाल औषधि लिमिटेडले माघको दोश्रो हप्तादेखि सिटामोल उत्पादन गरेर बजारमा पठाउने तयारी गरिरहेको र त्यसको ९० प्रतिसत काम सम्पन्न भएको बताएको छ । सिटामोल उत्पादन हुने खबरले नेपालीको औषधि बजार मात्र नभएर उपभोक्ता समेत खुशी भएका छन् ।
अनामनगरका चिया व्यापारी मनोहर श्रेष्ठले सिटामोल फेरि बजारमा आउने कुरा सुनेपछि हर्षित भएको बताए । उनले भने, ‘ सिटामोल जस्तो गुणस्तरीय ब्राण्ड फेरि आउनु हामी सबै उपभोक्ताका लागि खुशीको कुरा हो । ’ चर्चा कमाउनका लागि मात्र नभएर देशभरिका स्वास्थ्य संस्थामा पुग्ने गरि उत्पादन गर्नु पर्ने उनको सुझाव छ । उपभोक्ता मात्र नभएर औषधि व्यापारी पनि सिटामोलको उत्पादन हुने खवरले खुशी छन् । पुरानो बानेश्वरस्थित सुस्वास्थ्य फार्मेसीका नरोत्तम घिमिरेले सिटामोलको उत्पादन फेरि बन्द हुने गरि सञ्चालन गर्न नहुने बताउदै यो खबरले खुशी भएको बताए । नेपाल औषधि लिमिटेडका महाप्रवन्धक रोभसकुमार सेवेदीले सिटामोल उत्पादनकालागि कच्चा पदार्थ, प्याकेजिङ र वितरण गर्ने कम्पनी समेत छनौट भइसकेकाले उत्पादन हुनेमा शंका नरहेको बताए ।
७ वर्ष पहिले जिएमपी मापदण्ड पुरा नगरेको भन्दै यसको उत्पादन बन्द भएको थियो । अहिले गुणस्तर नियन्त्रण र माइक्रोवायोलोजी साखालाई जिएमपी मापदण्डमा स्तरोन्नती गरेपछि उत्पादन सुरु हुने भएको हो । कम्पनीले लामो समयदेखि बन्द रहेको अर्को ब्राण्ड जिवन जल समेत गत बैखाखदेखि बजारमा ल्याएको छ । तर बजारको आवश्यकता अनुसार भने उत्पादन गर्न सकिरहेको छैन । पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको पहलमा बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले पुनर्जिवन पाउन थालेको हो । जोशीकै पालामा ७ करोड रुपैया विनियोजन गरेर जिवनजल र सिटामोलको उत्पादन थाल्ने कामको सुरुवात भएको थियो ।
Leave a Reply