हेल्थ टुडे
काठमाडौँ, १५ माघ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) र नेपाल मेडिकल काउन्सिलको संयुक्त अनुगमन टोलीले गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी डाक्टरलाई राजधानीबाट पक्राउ गरेको छ । अबैध रुपमा चिकित्सकिय अभ्यासमा संलग्न रहेका उनीहरुलाई संयुक्त अनुगमन टोलीले विभिन्न अस्पतालबाट चिकित्सकीय अभ्यास गरिरहेका बेला पक्राउ गरेको हो । अनुगमन टोलीमा संलग्न नेपाल मेडिकल काउन्सिलका एक सदस्यका अनुसार उनीहरुलाई ठमेलस्थित अपोलो अस्पताल, लैनचौरस्थित सिभिक्ट क्लिनिक र बौद्यस्थित चाइनाग्रेटवाल अस्पतालबाट पक्राउ गरिएको हो ।
यी तिनवटै अस्पतालमा कार्यरत अधिकांश विदेशी चिकित्सकले कानूनी प्रकृया पुरा नगरि अभ्यास गरिरहेको उजुरी परेपछि छापा हानेर पक्राउ गरिएको हो । ती सदस्यका अनुसार पक्राउ गरिएका मध्ये कुनैपनि व्यक्ति नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकीय अभ्यासका लागि स्वीकृति लिएका छैनन् । टोलीमा संलग्न ती सदस्यले भने , ‘उनीहरुको डाक्टरकै रुपमा काम गरेको पाइयो तर उनीहरुले काउन्सिलसंग कुनै स्वीकृत लिएका छैनन् ।’ सीआईबीले अनुसन्धान प्रक्रिया नसकिएकाले उनीहरुको नाम सार्वजनिक नगरिएको बताएको छ । काउन्सिल ऐन अनुसार कुनै पनि विदेशी चिकित्सकले नेपालमा चिकित्सकिय अभ्यास गर्न पूर्व स्विकृति लिनु पर्छ ।
Leave a Reply