हेल्थ टुडे,
काठमाडौँ, २९ चैत : सरकारले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने नाममा विदेशबाट आयात भइरहेका उच्च गुणस्तरीय र सस्तो औषधिलाई निषेध गर्न खोजिएको भन्दै नेपाल औषधि व्यवसायी संघले आपत्ति जनाएको छ । उसले निषेध भन्दा औषधिको बजार मूल्य कायम गर्न तथा औषधिको गुणस्तर मापन गर्न स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको ध्यानाकर्षण गराएको छ । संघको टोली सहित औषधि आयातकर्ताहरुको टोलीले मंगलबार राज्यमन्त्री अर्याललाई भेटेर एकाधिकार लाद्ने किसिमको निर्णय नलिन ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको अगुवाईमा गएको टोलीले मन्त्री अर्याललाई भेटि स्वदेशी उद्योगलाई एकाधिकार दिइने गरी निर्णय नगर्न ध्यानाकर्षण गराएको छ । व्यवसायीका माग सुनेपछि जवाफमा मन्त्री अर्यालले सम्वन्धित क्षेत्रका व्यक्तिसंग आवश्यक परामर्स लिएर निर्णय गर्ने बताइन । विदेशबाट आयात हुँदै आएका कतिपय गुणस्तरीय र सस्तो मूल्यका औषधिलाई निषेध गरी केही स्वदेशी उद्योगहरुले नेपालमा आफ्नो एकाधिकार स्थापित गर्ने योजना बनाएको र त्यसैमा सरकार लागिरहेको उनीहरुको आरोप छ ।
औषधिमा देशलाई आत्मनिर्भर बनाउने भन्दै तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले गतवर्ष स्वदेशमा उत्पादन भइरहेका केही औषधि विदेशबाट आयात नगर्ने योजना अघि सारेका थिए । त्यतिवेला सरकारले ३० प्रकारका औषधिहरु आयात गर्न नपाउँने गरी योजना अघि सारेको चाल पाएपछि व्यवसायीहरुले चर्को आन्दोलन गरेका थिए । सोही कारण यसको कार्यान्वनय हुन सकेको थिए । औषधिमा एकाधिकार नलाउनु भन्दा प्रतिस्पर्धा मार्फत जनतालाई गुणस्तरीय र सस्तोमा औषधि उपललब्ध गराइरहेकोले आयात निषेध गर्ने निर्णय स्विकार्य नहुने आयातकर्ता र औषधि व्यवसायीको भनाई छ ।
Leave a Reply