हेल्थ टुडे,
काठमाडौँ, १२ असार : भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संसारमै जटिल मानिएको कलेजो प्रत्यारोपण तेश्रो पटक सफलताका साथ सम्पन्न गरेको छ ।
केन्द्रले आइतबार कपनका ४३ बर्षीय बद्री खड्काको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको हो । खड्कालाई उनकी पत्नी ३९ बर्षीया रुषा खड्काले कलेजो दान गरेकी हुन् । केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले उक्त कलेजो प्रत्यारोपण गरेको हो । नयाँदिल्लीस्थित म्याक्स हस्पिटलका वरिष्ठ कलेजो प्रत्यारोपणविज्ञ डा.सुभाष गुप्ताको नेतृत्वमा आएको टोलीले प्रत्यारोपणमा केन्द्रलाई सहयोग गरेको थियो ।
पहिलो पटक २०७३ मंसिर २२ गते नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको केन्द्रले त्यसपछि २०७४ असार १८ गते दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको थियो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मिर्गौला प्रत्यारोपणभन्दा कलेजो प्रत्यारोपण धेरै जटिल हुने जानकारी दिदै केन्द्रले मिर्गौलासँगै कलेजो प्रत्यारोपणलाई पनि उत्तिकै महत्व दिएर अगाडि बढीरहेको बताए । केन्द्रले अहिलेसम्म करिव ५ सयको मिर्गौला प्रत्यारोपण गरेर आफूलाई प्रत्यारोपणमा अब्बल सरकारी अस्पतालको रुपमा उभ्याएको छ ।
Leave a Reply