हेल्थ टुडे,
काठमाडौं, २९ असारः शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताउनु भएको छ । उहाँले त्यसबेला बल प्रयोग भयो भनेर नलेख्नु आग्रह गर्नुभयो ।
डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत हुनुहुन्छ । डा केसीले आफु काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरहरुबाट पनि उपचार लिनुभएको छैन । यता सरकारका तर्फबाट शुक्रबार फेरि अर्को टोली पठाउने तयारी गरिएको शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले मेडिकल एशोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गर्नुभयो । शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा पोखरेलले, सरकारले आग्रह गरेपछि देखाउन पनि जानुपर्छ तर, उहाँहरु नमान्नु भएको र स्वास्थ्यसंस्था बन्द गर्न लाग्नु भएको दुखद भएको बताउनुभयो ।
सरकार वार्ता विरोधी नभएको तर, स्वास्थ्य अवस्था कमजोर भएकासँग सम्वाद नहुने बताउदै पहिलो प्राथमिकता उपचार भएकाले, उहाँका स्वास्थ्य सुचांककहरु कमजोर भएर गयो भने जबरजस्ती पनि गर्नुपर्ने चेतावनी दिनुभयो ।
त्यस्तो बेला मौसमले साथ दियो भने बलपूर्वक डा. केसीलाई काठमाडौं ल्याउने संकेत गर्दै उहाँले सञ्चारकर्मीहरुलाई सरकारले बल प्रयोग गर्यो भनेर नलेख्न आग्रह गनुभएको छ ।
मन्त्री पोखरेलले डा गोविन्द केसीका मागका सम्बन्धमा संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गरिने भएकाले उहाँलाई काठमाडौँमा ल्याएर वार्ता गर्ने तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।
Leave a Reply