हेल्थ टुडे,
काठमाडौं : त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले मिर्गौला प्रत्यारोपणमा योगदान गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरेको छ । टिचिङमा मिर्गौला प्रत्यारोपणको १० वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र त्रिविका उपकुलपति तिर्थ खनियाले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा पहिलो पटक नेपालमा सफल मिर्गौला प्रत्यारोपणमा सघाएका अष्टेलियाका चिकित्सक डा. डेविड फ्रान्सिस, टिचिङका चिकित्सकहरु डा. भोलाराज जोशी, डा. दीव्यासिंह, डा. महेश खकुरेल, डा. कनक रावत, डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. मोदनाथ मरहट्टा, डाइलासिस सुपरभाइजर ज्ञानु गुरुङ र उपप्रशासक कृष्णदेश पन्त छन् । त्रिवि शिक्षण अस्पतालले १० वर्षको अवधिमा पाँचसय ६ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको वरिष्ठ नेफ्रोलोजिस्ट डा. दीव्यासिंहले जानकारी गराइन । यस अगाधिमा मिर्गौला प्रत्यारोपणका क्रममा १७ जनाको मृत्यु भएको डा. उत्तम शर्माले बताए । डा.फ्रान्सिसले नेपालमा मिर्गौला प्रत्यारोपण सफलताका साथ अगाडि बढेकोमा खुशी व्यक्त गरे ।
Leave a Reply