हेल्थ टुडे,
काठमाडौं, १३ भदौ : नेपालका २१ प्रतिशत बालबालिकामा जिन्क नामक पोषण तत्वको कमी देखिएको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा युनिसेफ, युएसआइडी, सिडिसी, युरोपियन युनियन र न्यु एराले गरेको ‘नेपाल राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्वेक्षण’ सर्वेक्षणले यस्तो देखाएको हो । ७३ जिल्लाका १८० का ४ हजार ३ सय २० घरधुरीका १२ हजार ५ सय १२ महिला, किशोरकिशोरी तथा बालबालिकामा सर्वेक्षण गरिएको हो । पोषण तत्वको कमिले बालबालिकामा पुड्कोपन र विभिन्न रोग लाग्ने सम्भावना बढी रहने गरेको छ । यसैगरी एक चौथाई प्रजनन उमेरका महिलामा पनि यही समस्या देखिएकोे यस्तो देखाएको छ ।
बुधबार राजधानीमा सार्वजनिक गरिएको सर्वेक्षणमा २० प्रतिशत बालबालिका र ४० प्रतिशत प्रजनन उमेरका महिलामा हेलिब्याक्टर पाइलरी भाइरस देखिएको छ । यो भाइरसका कारण पेट दुख्ने, वाकवाकी आउला जस्तो महशुस हुने र ग्यास्ट्राइटिस हुने समस्या आउछन् । हरेक ५ मा १ बालबालिका, किशोरी र प्रौढ महिलाहरुमा रक्त अल्पताको समस्या रहेको सर्वेक्षणले देखाएको छ । २७ प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या रहेको छ भने २८ प्रतिशत बालबालिका, १८ प्रतिशत किशोरी र १९ प्रतिशत प्रजनन् उमेरका महिलाहरुमा सुक्ष्मपोषण तत्व आइरनको कमी रहेको पाइएको छ ।
नेपालमै पहिलोपटक १० देखि १९ वर्षका किशोरहरुमा रक्तअल्पताको जाँच गरिएको छ । जसअनुसार ११ प्रतिसत किशोरीहरुमा रक्तअल्पता, ५ प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ । सर्वेक्षणको नतिजालाई गहन ढंगले विश्लेषण गरेर नीति बनाइने परिवार कल्याण महाशाखा प्रमुख डा आरपी विच्छाले बताए । यो नतिजाले जनस्वास्थ्यका क्षेत्रमा अगाडि बढ्ने स्पष्ट बाटो देखाएको त्यही अनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।
Leave a Reply