हेल्थ टुडे,
काठमाडौं, १६ माघ : नेपाल उद्योग परिसंघका अध्यक्ष एवं देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले देशलाई औषधीमा आत्मनिर्भर बनाउन पहिलो फेजमा सरकारले कम्तिमा १०० प्रकारका औषधीको खुल्ला आयात बन्द गर्नु पर्ने सुझाउ दिएका छन् । देउराली जनता फर्मास्वूटिकल्सको २८औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै शर्माले स्वदेशी औषधीलाई प्रोत्साहन गर्न र आत्मनिर्भर बनाउन औषधीको खुल्ला रुपमा आयात रोक्न सरकारले तत्कालै कदम चाल्नु पर्ने बताए । आयातको तुलनामा निर्यात एकदमै न्यून हुने देशको रुपमा नेपाल संसारमै सबैभन्दा पछाडि रहेको जानकारी दिदै शर्माले भने, ‘कानूनी प्रावधान सुधार गर्न सकिए नेपाली औषधी कम्पनी स्वदेशमा मात्र नभएर विदेशमा पनि बजार बिस्तार गर्न सक्षम छन । यो कुरालाई सरकारले बिचार गर्नु पर्छ । ’
औषधी व्यवस्था विभागका महाप्रवन्धक नारायण ढकालले आन्तरिक उत्पादनलाई बढावा दिने नीति सरकारको पनि रहेको दावी गर्दै नेपालका औषधी उद्योगले धान्न सक्ने औषधीको निर्यात बन्द गर्ने काम अन्तिम अवस्थामा पुगेकोले चाडै टुंगोमा पुर्याउने बताए । उनले भने, ‘ स्वदेशी औषधीलाई प्रोत्साहन गर्ने गरि तोकिएका औषधीको निर्यात रोक्ने गरि भइरहेको निर्णय मन्त्रीपरिषद्ले पास गरेपछि लागु हुनेछ । त्यसमा नेताहरुको सहयोग चाहिन्छ । ’ नेपालमा खपत हुने कुल औषधीको ४५ प्रतिसत हिस्सा स्वदेशी औषधी उद्योगले ओगटेकोमा खुशी व्यक्त गर्दै महानिर्देशक ढकालले गुणस्तरमा भने ध्यान दिनै पर्ने अवस्था रहेकोमा सजक गराए । कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले उदाहरणिय औषधी उद्योग सञ्चालन गरेकोमा शर्माको प्रशंसा गर्दै सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कुनै कसर बाकी नराख्ने आश्वासन दिए ।
देउराली जनता फर्मास्यिूटिकल्स कर्मचारीहरुको तर्फबाट दिब्यमका राष्ट्रिय व्यवस्थापक प्रकाशसिंह बिष्टले कम्पनी र कर्मचारी एकअर्काका परिपूरक भएको बताउदै कर्मचारीको क्षमता अभिवृदिमा कम्पनीले सक्दो सहयोग गरिरहेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा मन्त्री पोखरेलले कम्पनीमा १० बर्ष, १५ वर्ष, २० वर्ष र २५ बर्ष सेवा गरेका दुई दर्जन बढी कर्मचारीलाई सेवा पदकबाट सम्मानित गरेका थिए । समाजसेवी चन्द्र विनोद अधिकारी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, कम्पनीका बरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्य र कम्पनीका अध्यक्ष दुर्गा उपाध्यायले पनि कार्यक्रममा आआफ्नो बिचार व्यक्त गरेका थिए । ५ सयभन्दा बढी कर्मचारी कार्यरत देउराली जनताले ३२० भन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ ।
Leave a Reply