हेल्थ टुडे,
धरान,३१ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दाससहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरुबिरुद्ध अदालतमा १५ करोड ७७ लाखभन्दा माथिको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ठेकेदारसँग मिलेर महँगो दररेटको स्वास्थ्यसम्बन्धी सामग्री खरिद गरेको आरोपमा तत्कालीन उपकुलपति दाससहित आठजनाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । उपकुलपति दाससहित अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा र रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध मुद्दा दायर भएको हो ।
उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालविरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगले बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेसिफिकेसन र सोही कागजमा संलग्न खरिद सम्झौताका सर्तअनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनुपर्ने व्यवस्था उल्लंघन गरी भ्रष्टाचार गरेको जनाएको छ ।
आयोगले तत्कालीन उपकुलपति दासलाई चार करोड आठ लाख ९८ हजार १९ रुपैयाँ, तत्कालीन अस्पतालका निर्देशक सिन्हालाई तीन करोड ७५ लाख ३० हजार ६ सय १९, तत्कालीन रजिस्ट्रार थापालाई एक करोड ९६ लाख नौ हजार आठ सय ८० रुपैयाँ, रजिस्ट्रार श्रेष्ठलाई ५६ लाख ७७ हजार चार सय पाँच रुपैयाँ बिगोदाबी गरी मुद्दा दायर गरिएको छ ।
प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाललाई दुई करोड ३४ लाख, ८१ हजार आठ सय १९ तथा डेपुटी मेनेजर अमित श्रीवास्तवसँग एक करोड ७४ लाख १६ हजार दुई सय रुपैयाँ बिगो लिइएको छ । उनीहरूलाई बिगो असुल गरी बिगोबराबर जरिवाना र तीन वर्षसम्म कैद सजाय माग गरिएको छ ।(नयाँ पत्रिका दैनिकबाट)
Leave a Reply