हेल्थ टुडे,
पोखरा, २९ साउन : मिर्गौला प्रत्यारोपण सेवा उपत्यका बाहिरका सरकारी अस्पतालहरुमा गति लिन थालेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार एकै दिन २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा एकै दिन २ जनाको मिर्गौला प्रत्यारोपण भएको हो । प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीको टोलीले सघाएको हो । कास्की जिल्ला रुपाकोट गाउँपालिकाका, ५३ वर्षीया पूरुष र स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षीय पुरुषको मृगौला प्रत्यारोपण गरिएको हो । दुबै जनालाई आ–आफ्नो श्रीमतीले मिर्गौला दिएकी थिइन ।
डा. पुकारको नेतृत्वमा नेतृत्वमा गत असार ९ गते पहिलो पटक प्रतिष्ठानमा एक जनाको मिर्गौला प्रत्यारोपण भएको थियो । सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत मुलुक मै पहिलो पटक गत महिना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको र यसलाई देशका सातवटै प्रदेशबाट सुरु गर्न लागिएको डा. श्रेष्ठले बताए ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र निर्देशक भरत खत्रीले प्रत्यारोपण सेवाले निरन्तरता पाएकोमा खुशी व्यक्त गरे । सरकारले बजेट वक्तत्व मार्फत देशका सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा बिस्तार गर्ने योजना अगाडि सारेको छ ।
Leave a Reply