हेल्थ टुडे,
काठमाडौं, १३ माघ : दुर्गम क्षेका जनता अहिले पनि बर्सेनि भोकमरी र खाद्यान्न संकट भोग्न बाध्य छन् । पेटभरि खान नपाएर उनीहरु कुपोषण, रोग र मृत्युको सिकार भइरहेका छन । तर, यही मुलुकमा एकथरी मानिस खासगरी सहरिया खाएरै रोगी भइरहेका छन् । पोलेको तात्तातो सेकुवा, मसलेदार चिकन तन्दुरी अनि बोसोयुक्त खसीको पक्कु नै किन नहोस, खाँदा त स्वादिलै हुन्छ । तर, त्यसले मानिसलाई रोगी पनि बनाइरहेको हुन्छ । कस्तो खाना कति मात्रामा कसरी खाने ? भन्ने पक्षमा ध्यान दिन नसकेकै कारण खासगरी सहरका मानिस खाएरै रोगी भइरहेका छन । रक्सी, मासु र जंकफुड लगायतका उच्च क्यालोरीयुक्त खाना खाने बानीले सहरका मानिसलाई रोगी बनाइरहेको छ । स्वास्थ्यको ख्यालै नगरी जथाभावी खाने बानी भएकालाई चिकित्सकको सल्लाह छ, जिव्रोको स्वादको पछि मात्र नलाग्नुस, स्वास्थ्यलाई फाइदा हुने गरी ठिक्क मात्रामा खानुस् ।
केही समयपहिले बन्द भएको हास्य टेलिशृंखला तीतो सत्यका कलाकार गैंडा अर्थात निर्मल शर्मा पहिले जे पनि खान्थे । वियर, चुरोट, पोलेको मासु सबै खान्थे । तर यसले स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी न चुरोट खान्छन न त वियर । चुरोटकै कारण मेरो बुवाको मृत्यु भयो । त्यो देखेपछि मैले चुरोट पिउन छाडेँ, निर्मल भन्छन, मोटोपनका कारण बफ, रेड मिट र बोसोयुक्त खानेकुरा पनि खान छाडेको छु ।
वरिष्ठ चलचित्र अभिनेता नीर शाह शाकाहारी बनेका छन । पहिले उनी मांसाहारी थिए । शाकाहारी भएर खानपानमा ध्यान दिन थालेपछि आफ्नो मानसिकता नै परिवर्तन भएको शाह बताउँछन । क्यान्सर रोग विज्ञ एवं नेसनल क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक डा. मदनकुमार पिया पहिले आफै चुरोट पिउँथे । पहिले दिनमा पचास खिल्ली चुरोट एक दिनमै खान्थे । चुरोटका कारण लाग्ने क्यान्सर डाक्टरलाई पनि लाग्नसक्छ भनेर चुरोट छाडेको हुँ, डा. मदन भन्छन, मांसाहारीको तुलनामा शाकाहारीमा क्यान्सर हुने सम्भावना कम हुन्छ । मदनका अनुसार क्यान्सर रोगीमध्ये ८५ प्रतिशत मांसाहारी छन् भने १५ प्रतिशत मात्र शाकाहारी छन् ।
पोषणविद् जया प्रधान अधिकांश नेपालीलाई खाना खाएर पनि रोगी भइन्छ भन्ने चेतना नभएको बताउछिन । खानेकुरामा सन्तुलन नहुँदा रोगी भइन्छ भन्ने चेतना भए पनि खाने बेलामै बिर्सिन्छन्, प्रधान भन्छिन, त्यसैले खानाकै कारण अधिकांश सहरिया बिरामी परिरहेका छन् । धेरैजसो भोजभतेर, पार्टी, गोष्ठी, सभा सम्मेलनमा सहभागी भइरहने व्यक्ति आफ्नो शरीरलाई आवश्यक पर्नेभन्दा बढी चिल्लो, प्रोटिन, कार्बोहाइड्रेड खाइदिन्छन् । भोजमा जानुस तर धेरै खाना नखानुस, नर्भिक इन्टरनेशनल अस्पतालका मुटुरोग विज्ञ डा. यादवदेव भट्टको सल्लाह छ, हरेक मानिसले आफू खानकै लागि बाँचेको नभई बाँच्नका लाग खाएको कुरा दिमागमा राख्नुपर्छ ।
रुछाउँछ खसी र मासुले
खाएर रोगी हुनेलाई सबैभन्दा बढी मुटु रोगले सताउने गरेको पाइएको छ । सहरमा एउटा संस्कार नै विकास भएको छ, पहिले खाएर मोटाउने अनि मोटाएर बिरामी पर्न थालेपछि तौल घाउनतिर लाग्ने । गाउँघरको तुलनामा सहरका बासिन्दा बढी रक्सी पिउँछन । रक्सी पिउन कुनै वहाना नै चाहिदैन । काठमाडौंका तारे होटलदेखि बेकरी क्याफे र रेस्टुराँसम्ममा आयोजना गरिने पार्टीमा रक्सी अनिवार्य भइसकेको छ । रक्सीविनाको पार्टी नै हुँदैन, राष्टिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला रोग विज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन, मानिसलाई रोगी बनाउनुमा रक्सीको पनि प्रमुख भूमिका छ ।
रक्सी र मासु जथाभावी खाँदा मोटोपन बढ्ने र त्यसले मुटुरोग निम्त्याउने गरेको डा. भट्ट बताउँछन । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपनलगायत दर्जनौं रोगको प्रमुख कारण हामीले खाने खाना नै हो । हामीले दैनिक खाने खानेकुरामा आवश्यकताअनुसार कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन र चिल्लो पदार्थको मात्रा हुनुपर्छ, पोषणविद डा. अरुणा उप्रेति भन्छिन, सहरमा जंक फुडको जगजगी बढेको छ । यसले बालबालिकालाई मात्र नभएर सबैलाई कुनै न कुनै रुपमा रोगी बनाइरहेको छ ।
अर्कोतिर पोषण ज्ञानको अभावले गर्भवती महिलालाई आवश्यकताभन्दा बढी नै पोषणयुक्त खाना खुवाउने गरिन्छ । यसका कारण पछिल्ला वर्षमा मोटा बच्चा जन्मने गरेका छन । पेटमा मोटो बच्चा भएपछि सिजरिङ (अप्रेसन) गर्नुपर्छ । प्रसूतिगृहको तथ्यांकअनुसार बच्चा जन्माउँदा २० प्रतिशत महिलाको सिजरिङ गर्नुपर्छ । यसको प्रमुख कारण मोटो बच्चा जन्मनु हो । जिन्दगी जतिसम्म बाँचिन्छ, ऋण लिएर भए पनि मीठो खानुपर्छ भन्ने भौतिकवादी चिन्तनले पनि स्वास्थ्य जोखिममा पर्दै गइरहेको चिकित्सक बताउँछन । क्यान्सर रोगविज्ञ डा. शुदिप श्रेष्ठ राजधानीका होटेल, रेस्टुराँ र सेकुवाघरमा पाइने सेकुवा र रक्सीले क्यान्सरको खतरा बढाइरहेको बताउँछन । पोलेको सेकुवा वा मासुमा नाइट्रोसमाइन नामक रसायन पाइन्छ । त्यसले क्यान्सर गराउन सहयोग गर्छ, डा. श्रेष्ठ भन्छन, पोलेको सेकुवाका साथ रक्सी खाँदा मुख र खाना खाने नलीको क्यान्सर हुन्छ ।
सहरिया भइरहेकाछन् खाएरै रोगी

Leave a Reply