पोलियो अभियानलाई निरन्तरता दिइनु पर्ने आवश्यकता रहेको विज्ञहरुले औल्याएका छन् । पाँचौ अन्तर्राष्ट्रिय पोलियो दिवसको अवसरमा विश्व स्वास्थ्य संगठन, नेपाल नेशनल पोलियो प्लस कमिटी, युनिसेफ र नेपाल रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरुले अन्य देशबाट पोलियो भित्रनसक्ने संभावना भएकाले खोप कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका हुन ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गर्भनर एवं नेपाल नेशनल पोलियो प्लस कमिटीका अध्यक्ष रत्नमान शाक्यले नेपालबाट पोलियो उन्मुलन भइसकेको भएपनि अन्य देशहरुबाट पोलियो भित्रिन सक्ने सम्भावना भएकाले नियमित पोलियो खोप अभियानलाई निरन्तरता दिनु पर्ने बताए । सरकारले यस बिषयमा गम्भिर भएर सोच्नु पर्ने बेला भएको उनको सुझाउ थियो । पोलियो दिवसका अवसरमा विभिन्न ठाउँमा पोलियो खोप सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको छ । हरेक वर्ष २४ अक्टोबरलाई विश्वभर पोलियो दिवस मनाउने गरिन्छ । ‘नियमित खोप अभियान, २ थोपा पोलियो खुवाई पोलियो खोपलाई फर्किन नदिऊँ’ भन्ने नाराका साथ यो वर्ष नेपालमा यो दिवस मनाइएको हो । दिवसको अवसरमा मंगलबार ललितपुरमा जनचेतनामुलक प्रभातफेरि कार्यक्रमको समेत आयोजना गरियो । काठमाडौंको थापाथलीबाट निस्किएको प्रभातफेरि युएनपार्क, पाटन हुँदै जावलाखेलमा पुगेर समापन भएको थियो ।
समापनपछि पोलियो खोप सम्बन्धि अन्तरक्रिया आयोजना गरिएको थियो । स्वास्थ्य मन्त्रालयले सेम्टेम्बर २०१० देखि अहिलेसम्म मुलुकमा पोलियोका कुनै पनि बिरामी नभेटिएको जनाएको छ । सन् १९८४ मा ८० जना पोलियोका बिरामी भेटिएका थिए । त्यसपछि सन् २००१—२००४ सम्म कुनै पनि पोलियोका बिरामी देखिएन । सन् १९९९ मा पोलिभाइरसको बिरामी भेटिएको थियो । सन् २००० मा भारतबाट पोलियो भाइरस आएको पत्ता लाग्यो । सन् २००५ मा नेपालको सिमा क्षेत्रमा चार जना पोलियोका बिरामी भेटिए । त्यसपछि सन् २००९ सम्म कुनै पनि पोलिएका बिरामी भेटिएनन् । तर सन् २०१० मा ६ वटा पोलियोका बिरामी भेटिए । त्यसपछि कुनै पनि नेपालीमा पोलियो भेटिएको छैन ।
Leave a Reply