हेल्थ टुडे
तिन दिन पहिले एमाओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातका कारण मृत्यु भएको खबर सञ्चारमाध्यमबाट सुनेपछि राजधानीबासी मुटु रोग प्रति सजक भएका छन् । दाहालको मृत्यु पछि बिगत दुई यता मुटु रोगबाट बच्न उच्च रक्तचाप जाचँ गराउनेको संख्या ह्वात्तै बढेको चिकित्सकले बताएका छन् । वीर अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बिगत दुई दिनमा हृदयघातबाट बच्न उच्च रक्तचाप जाचँ गराउन आउनेको संख्या २५ प्रतिसतले बढेको बताए ।
एकैपटक सञ्चार माध्यमबाट हृदयघातका बिषयमा व्यापक सूचना सम्प्रेषण भएकाले जनतामा सचेतना बिस्तार भएर चेक जाच गराउनेको संख्या बढेको डा. रेग्मीको अनुभव छ । हृदयघातका विभिन्न कारण मध्ये उच्च रक्तचाप रहेको हृदयघातबाट बच्न अधिकांश व्यक्ति रक्तचापको जाँच गराउन आउन लागेको अर्का मुटुरोग विशेषज्ञ डा. अरुण मास्के बताउँछन् ।
हृदयघात कसलाई कति बेला हुन्छ भन्न नसकिने भएकाले भइसकेपछि उपचार गरौला भन्दा पनि हुनबाट राक्न आफुले सक्ने प्रयास गर्नु सबैभन्दा उत्तम हुने डा. मास्केको सुझाव छ । राजधानीका अन्य अस्पताल, नर्सिङ होम, क्लिनिकमा समेत उच्च रक्तचाप जाचँ गराउनेहरुको संख्या बढीरहेको चिकित्सकले बताएका छन् । धुलिखेल अस्पतालका मुटुरोग विज्ञ डा. राजेन्द्र कोजूका अनुसार धेरैजसो हृदयाघात भएको व्यक्तिको एउटा प्रमुख कारण उच्च रक्तचाप हो । नियन्त्रण नभएको उच्च रक्तचाप अझ जोखिमपूर्ण हुन्छ । त्यस्तै मस्तिष्काघात वा स्ट्रोक वा प्यारालाइसिस हुने खतरा पनि त्यत्तिकै बढ्छ । उच्च रक्तचाप भएको व्यक्तिलाई मिर्गौला खराब हुने सम्भावना पनि निकै छ । मिर्गौला वा किड्नी खराब भयो भने पछि डायलाइसिस गर्नुपर्ने र किड्नी नै फेर्नु पर्ने हुन सक्छ ।
त्यसैगरी उच्च रक्तचाप भएको व्यक्तिको आँखामा पनि असर पर्न सक्छ । साधारणतया उच्च रक्तचापको लक्षण थाहा हुँदैन, केहीमा टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो लक्षण देखिन सक्ने भए पनि धेरैजसोलाई केही लक्षण भएको पाइँदैन । रक्तचाप नियमित प्रकारले जाँच्ने बेलामा बढेको पाइन सक्छ । डा. कोजूका अनुसार कसै–कसैलाई एक्कासि हृदयाघात वा मस्तिष्काघात वा मिर्गौला बिग्रेपछि मात्र उच्च रक्तचाप पनि भएको थाहा हुन्छ । तसर्थ केही पनि नहुँदा पनि ब्लड प्रेसर जँचाउनुपर्ने हुन्छ । हाम्रो शरीरको रक्तचाप साधारण व्यक्तिको माथिको (सिस्टोलिक) १२० र तलको (डायस्टोलिक) ८० भयो भने राम्रो मानिन्छ । तर सबैको रक्तचाप एउटै हुँदैन । तसर्थ माथिको रक्तचाप १०० देखि १२० सम्म भयो भने तलको रक्तचाप ६० देखि ८० छ भने राम्रो मानिन्छ ।
Leave a Reply