हेल्थ टुडे
१२ वर्षका थिए, अमरबहादुर तिमिल्सिना २०४५ मा । आमा खड्ककुमारी र बुवा बेनीबहादुर तिमिल्सिनाको कोखबाट काभ्रेको तालढुंगामा जन्मेका उनको हातमा समस्या देखियो । उनको हात सुन्निन थाल्यो । गाउँमा ओखतीमूलो गर्दा, धामीझाँक्री केहीले पनि निको भएन । उनलाई थप उपचारका लागि ललितपुरको लेलेमा रहेको आनन्दवन अस्पताल ल्याइयो । बल्ल त्यहाँ पत्ता लाग्यो उनलाई कुष्ठरोग लागेको रहेछ भन्ने कुरा । २०५१ सम्मा ६ वर्षको अवधिमा उनलाई करिब ४० पटक अस्पताल भर्ना गरियो । ६ वर्षसम्म उनले कुष्ठरोगको औषधि खाए । कुष्ठरोगकै कारण उनले मात्र नभएर परिवारले कयौं लाञ्छना सहे त्यसको लेखाजोखा गर्नै सकिँदैन । कुष्ठरोगकै कारण उनलाई गाउँको स्कुलबाट समेत निकालियो । आनन्दवनमा उपचार गरेपछि उनको रोग निको भयो । गाउँमा बस्न सक्ने, पढ्न सक्ने अवस्था रहेन । उनी स्कुल पढ्न चाहन्थे । समाजमा असल मान्छे बनेर सामाजिक सेवामा लाग्न चाहन्थे ।
तर त्यतिबेला त्यो सजिलो थिएन । उनको पढ्ने चाहना पूरा गर्न पनि उही आनन्द वन अस्पताल अगाडि बढ्यो । सेन्ट जेभियर्स स्कुललाई आनन्द वन अस्पतालले नै उनको पढाइको व्यवस्था गर्न चिठी लेखिदियो । अस्पतालको आग्रह र विद्यार्थीको रुचिलाई ध्यानमा राखेर जेभियर्स स्कुलले उनलाई भर्ना लिएर सामाजिक सेवा केन्द्रमा बसेर पढ्ने मौका प्रदान ग¥यो । अमरले सेन्ट जेभियरबाटै एसएलसी पास गरे । त्यसपछि उनले जसोतसो कलेज पढे । उनी सम्झन्छन, दुःख, कष्ट, हण्डर र ठक्कर त कति झेले झेले । भेदभावको त हिसाब नै भएन । आफैं कुष्ठ प्रभावित भएकाले उनले प्रभावितका समस्या नजिकबाट अनुभव गर्न पाए सानै उमेरदेखि । कलेज पढाइ सकेपछि पनि उनी जागिरको खोजीमा त्यति लागेनन् । उनी त्यस्तो संस्थामा लाग्न चाहन्थे, जसले साँच्चिकै कुष्ठ प्रभावितका पीडा बुझेर काम गरोस् । जहाँ इच्छा त्यहाँ उपाय । उनी कुष्ठ प्रभावितको हक र अधिकारका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था आइडियामा संलग्न भए । सदस्य हुँदै काठमाडौ सचिव भए । त्यसपछि केन्द्रीय महासचिव र विगत चार वर्षदेखि उनी आइडिया नेपालको केन्द्रीय अध्यक्ष छन् ।
कुष्ठ प्रभावितका क्षेत्रमा काम गर्ने कुष्ठ प्रभावितहरूको संस्था हो आइडिया नेपाल । यो अन्तर्राष्ट्रिय संस्था हो । यसको स्थापना सन् १९९८ मा भएको हो । अहिले आइडिया विश्वका ३७ देशमा सञ्चालनमा रहेका छन् । समान उद्देश्यका साथ स्थापना भएको संस्थाले कुष्ठरोगका कारण समाजबाट आफ्नो मानसम्मान र अस्तित्व गुमाएका व्यक्तिहरूको आत्मसम्मान फर्काएर ससम्मान जीवन निर्वाह गर्न सहयोग गर्छ । आइडिया नेपालले कुष्ठरोगीको आत्मसम्मान र प्रगतिमा विशेष ध्यान दिन्छ । जुन समाजमा मानसम्मान गुमाएका छन् त्यही समाजमा गुमेको आत्मसम्मान फर्काउनमा आइडियाले काम गर्छ । कुष्ठ प्रभावितलाई विभिन्न सीपमूलक तालिम दिएर जीविकोपार्जमा सहयोग गर्ने, भूकम्पका कारण भत्केका घर पुनर्निमाण गर्ने, प्रभावितका बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउनेजस्ता काम आइडियाले गरिरहेको तिमिल्सिना बताउँछन् । आइडियालाई दी ल्याप्रोसी मिसन नेपालको सहयोग प्राप्त छ । कुष्ठ प्रभावितप्रतिको भेदभावको प्रमुख कारण अशिक्षा भएको राम्ररी बुझेका अमरले आफ्नै पहलमा राजधानीको बूढानीलकण्ठमा अमरदीप स्कुल स्थापना गरे । कक्षा १० सम्म पढाइ हुने यो स्कुलमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । अहिले पनि कुष्ठ प्रभावित व्यक्तिसँग बोलेपछि इज्जत नै जाने हो कि भन्ने व्यवहार देखाउने गरेको उनको अनुभव छ । कुष्ठ प्रभावितका पक्षमा हामी आफू नै लागेनांै, बोलेनौं भने कस्ले गरिदेला र ? भन्ने मनोभावनाबाट आफू आइडियामार्फत यो क्षेत्रमा सक्रियताका साथ लागेको अमर बताउँछन् । आइडियामार्फत दर्जनौं प्रभावितलाई समाजमा पुनस्र्थापन गराउन सकेकोमा अमर आफूले थालेको कामबाट सन्तुष्ट छन् । भन्छन्, अहिले त म गाउँमा जाँदा ठूलो मान्छे आयो भन्छन् । पहिले मलाई हेलाँ गरेर स्कुलबाट निकाल्ने समाजमा अहिले सम्मान पाउन सफल भएको छु । अमर अहिले आइडिया नेपालको अध्यक्षमात्र नभएर ल्याप्रोसी मिसन इन्टरनेसनलका बोर्ड सदस्य पनि हुन ।
सन् २०१६ मा स्विट्जरल्यान्डमा भएको मिसनको निर्वाचनले उनलाई बोर्ड सदस्य निर्वाचित गरेको थियो । आइडिया नेपाललाई देशका विभिन्न ११ जिल्लामा शाखा विस्तार गरेर कुष्ठ प्रभावितको हक, अधिकार र आत्मसम्मानका पक्षमा वकालत गर्न खटिएका छन् । आइडिया नेपाललालाई देशभरिका प्रभावितहरूका लागि शीतल प्रदान गर्ने छहारी बनाउन चाहन्छन् उनी । स्कुल स्थापनाको पनि आफ्नो कथा छ अमरसँग । उनी आफू स्कुलबाट भेदभावपूर्ण ढंगले निकालिएकोले कुनै पनि व्यक्तिले भेदभावपूर्ण किसिमले पढाइबाट बञ्चित हुन नपरोस् भनेर दुःख गरेर स्कुल खोलेको सुनाउँछन् । स्कुल स्थापना गर्नुभन्दा पहिले उनले थुप्रै स्कुलमा पढाए । बिहानसाँझ ट्युसन पढाए । त्यसबाट कमाएको केही पैसा र साथीभाइबाट सापट लिएर सन २००७ मा स्कुल स्थापना गरेको उनी सुनाउँछन् । उनले यो स्कुलमा ३० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । कुष्ठरोग प्रभावितलाई उनले निःशुल्क पढाइदिने गरेका छन् ।
Leave a Reply