जाजरकोट जिल्लामा सामान्य रोग फैलिएर प्रकोपको रूप लिने र मानवीय क्षति हुने स्थिति पटक–पटक पुनरावृत्ति हुँदै आएको छ । आठ वर्षअघि झाडापखाला र हैजाको महामारीका कारण करिब साढे तीन सयको ज्यान गएको जाजरकोटमा दुई वर्षअघिको मौसमी रुघाखोकीको प्रकोप फैलँदा २७ जनाको मृत्यु भयो ।
यसपालि पुस पहिलो सातादेखि फैलिएको भाइरल ज्वरोका कारण १३ जनाको मृत्यु भइसकेको छ र करिब दुई हजार बिरामी छन् । सामान्य स्वास्थ्य समस्याले प्रकोपको रूप लिएर मानवीय क्षति हुनुमा स्थानीय बासिन्दाको सरसफाइ कमी र रोगप्रति लापरबाहीजस्ता कारक देखिए पनि यसमा चेतना जगाउने तथा औषधोपचार सर्वसुलभ बनाउने कार्यका लागि राज्यका सम्बन्धित निकायहरू बढी दोषी छन् । जाजरकोटमै प्रकोप पुनरावृत्ति भइरहनुले सरकार त्यहाँको समस्याको दीर्घकालीन समाधान खोज्न गम्भीर छैन भन्ने पनि देखाउँछ ।
यसपटक जाजरकोट, जुनीचाँदेका १, २, ३ र ११ वडामा भाइरल ज्वरोको प्रकोप फैलिएको हो, जुन अझै नियन्त्रण भइसकेको छैन । त्यस क्षेत्रका घर–घरमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको तथा जिउ दुख्ने, पखाला लाग्नेजस्ता समस्याका बिरामी छन् । विगतका वर्षझैं यसपालि पनि प्रकोप नियन्त्रणका लागि राज्यका तर्फबाट बेलैमा पहल हुन सकेन । प्रभावित क्षेत्रमा दुई सातापछि मात्र स्वास्थ्यकर्मी पुगे । नियन्त्रणमा जति ढिलाइ भयो, परिस्थिति उति जटिल बन्छ भन्ने विगतका प्रकोपबाटै सम्बन्धित निकायले पाठ सिक्नुपर्ने हो । २०६६ सालको प्रकोप पूर्ण नियन्त्रण हुन झन्डै छ महिना लागेको थियो भने दुई वर्षअघिको प्रकोप दुई महिनासम्म फैलिएको थियो । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी पर्याप्त औषधिसहित जुट्न सकेको भए सामान्य स्वास्थ्य समस्या प्रकोपमा रूपान्तरण भएर मानवीय क्षति हुने थिएन ।
जाजरकोटका दुर्गम बस्तीमा चेतनाको कमी, स्वच्छ पानी तथा पौष्टिक खानेकुराको अभाव र सरसफाइमा हेलचेक्रयाइँजस्ता समस्या छन् । सामान्य स्वास्थ्य समस्या हुँदासम्म बेवास्ता गर्ने, धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्ति पनि छ । स्वास्थ्य संस्थाहरू सबैको पहुँचमा छैनन्, भए पनि कतै स्वास्थ्यकर्मी नहुने त कतै औषधि नपाइने समस्या छन् । विशेषज्ञ चिकित्सकको अभाव छ । बिरामी हतपत स्वास्थ्य संस्था नपुग्ने र पुगिहाले पनि उचित औषधोपचार बेलैमा नमिल्ने हुनाले प्रकोप फैलिने एवं मानवीय क्षति हुने गरेको छ । यस्तै, समस्या रहेका अन्य जिल्लामा पनि बेला–बेला प्रकोप फैलिएर मानवीय क्षति हुने गरेको छ । बाजुराको जगन्नाथ गाउँपालिकामै रुघाज्वरोका कारण दुई सातायता पाँच जनाको मृत्यु भइसकेको छ । जिल्ला र केन्द्रले पनि प्रकोपकै रूप लिइसकेपछि वा व्यक्तिको ज्यान नै गइसकेपछि मात्र गम्भीर ढंगले लिँदै जनशक्ति र औषधि परिचालन गर्ने प्रवृत्ति छ, त्यसलाई सुधार्न जरुरी छ ।
प्रकोप फैलिएको जाजरकोटको जुनीचाँदेमा ढिलै भए पनि विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीले उपचार सुरु गरेका छन् । उनीहरूको उपचार सेवाले यसपालिको भाइरल ज्वरो त नियन्त्रणमा आउला तर फेरि यस्तै प्रकोप कुनै दिन नदेखिएला भन्न सकिने स्थिति छैन । त्यसैले जाजरकोटमा स्वास्थ्यसम्बन्धी प्रकोपको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायले विशेष सतर्कता अपनाउन अत्यावश्यक छ । सरसफाइमा ध्यान दिन र बिरामी हुनासाथ स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने खालका जनचेतनामूलक कार्यक्रम चाहिन सक्छ । सरकारले पनि अत्यावश्यक ठाउँमा स्वास्थ्य संस्था स्थापना र विशेषज्ञसहित पर्याप्त जनशक्ति परिचालन गर्दै उपचार सेवा सर्वसुलभ बनाउन सक्नुपर्छ । आधारभूत स्वास्थ्य सेवा नि:शुल्क र समान पहुँच पाउने प्रत्येक नागरिकको संविधानप्रदत्त मौलिक हक पनि हो । अहिले स्थानीय सरकार अर्थात् स्थानीय तहलाई नै स्वास्थ्य संस्था सञ्चालन, औषधि तथा स्वास्थ्य उपकरण व्यवस्थापनको अधिकार हुनाले सामान्य स्वास्थ्य समस्यालाई जटिल बन्न नदिन जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ ।कान्तिपुरबाट
Leave a Reply