हेल्थ टुडे
काठमाडौं : मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीहरुले सरकारले उपलब्ध गराउने भनेको मासिक ५ हजार भत्ता पाउन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री देउवाले ट्रमा सेन्टर र बीर अस्पतालमा उपचार गराइरहेका २१ जना बिरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गरेर सेवा प्रारम्भ गरेका हुन । पुस १३ गतेको मन्त्रिपरिषद बैठकले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीहरुलाई प्रतिमहिना ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो । यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि भत्ताको व्यवस्था गरिएको हो । नेपालमा यस मिसिमका बिरामीको संख्या १७ हजार रहेको अनुमान गरेको छ । सरकारले उपलब्ध गराउन थालेको उक्त भत्ता सूर्तिजन्य पदार्थबाट संकलन गरिने करकोषबाट खर्च गरिने छ ।
यो भत्ता व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्लास्थित सरकारी अस्पतालको प्रमुख सदस्य र जिल्ला स्वास्थ्य प्रमुख सदस्य सचिव हुनेछन् । भत्ता रकमको चेक लिनका लागि बिरामी स्वयम् उपस्थित हुनुपर्ने, स्वयम् उपस्थित हुन नसक्ने अवस्था रहेमा अस्पताल प्रमुखको स्वीकृतीमा बिरामीको अभिभावकलाई प्रदान गर्न गरिने, भत्ता पाउने बिरामीको मृत्यु भएमा आफन्तले सोको जानकारी गराउनेपर्ने नगराई भत्ता लिएमा नियमानुसार उपर गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मिर्गौला, मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई पारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत भई सोही अनुसार यो व्यवस्था कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ । सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ र मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण निशुल्क गरेको छ ।
Leave a Reply