हेल्थ टुडे
काठमाडौं, १६ माघ : नेपाली औषधि उद्योगमा अग्रणी औषधि उद्योगका रुपमा आफूलाई उभ्याउन सफल देउराली जनता फर्मास्विटिकल्सले मंगलबार राजधानीको धापासीस्थित कम्पनीको प्राङ्गणमा भव्यताका साथ आफ्नो २७ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ४४ प्रतिसत औषधि स्वदेशमै उत्पादन गरेर नेपाली औषधि उद्योगहरुले आत्मनिर्भरताको बाटोमा अग्रसर भइरहेकोमा खुशी व्यक्त गर्दै सरकार र निजी क्षेत्रबिच सहकार्य गरेर अगाडि बढ्न सके औषधि आयात घटाउन सकिने बताए । उनले भने, ‘गत वर्ष ७० करोडको औषधि विदेश निर्यात गरेर नेपालबाट औषधि निर्यात गर्ने प्रसस्त संभावना रहेको देखाएकाले यसलाई भविश्यमा बढाउदै लैजानु पर्छ । ’ नेपालमा गुणस्तरीय ओषधि उत्पादनमा देउराली जनताले पुर्याएको योगदान उदाहरणिय भएको स्मरण गर्दै पुनले कम्पनीले नयाँ नयाँ रोग विरुद्घ औषधि उत्पादनमा लाग्नु पर्ने सुझाव दिए । एमाले महासचिव ईश्वर पोखरेलले रोजगारी सिर्जनामा मात्र नभएर गुणस्तरीय औषधि उत्पादनमा देउराली जनताले गरेको प्रगति प्रशंसनिय भएको बताए ।
समारोहमा देउराली जनता फर्मास्विटिकल्सका प्रवन्ध निर्देशक हरिभक्त शर्माले सरकारले औद्योगिक वातावरण बनाए अवको १० वर्ष भित्र औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने दावी गरे । अहिले २७ अर्वको औषधि आयात गर्नु परिरहेको र १२ देखि १५ अर्बको औषधि स्वदेशमै उत्पादन भइरहेको जानकारी गराउदै औषधि सम्बन्धी पुराना निति परिवर्तन गरेर उद्योगमैत्री बनाउनु पर्ने बताए ।
सरकारले युवाजनशक्तीलाई कामका लागि विदेश पठाउनु भन्दा स्वदेशमै काम गरेर खाने वातावरण बनाउनु पर्ने उनको सुझाव छ । देशमा बढी एनजिओ खोल्नु भन्दा उद्योग खोल्न सकेमात्र देशले विकासमा फड्को मार्ने उनले बताए । उनले भने, ‘ एनजिओले देश विकास हुने भए ३६ हजार एनजिओ भएको हाम्रो देश उहिल्यै विकसित भइसक्थ्यो । एनजिओले मागेर खान मात्र सिकाउछ ।’
एक अर्ब ३१ करोड लगानीमा सञ्चालित देउराली जनताले प्रति सिफ्टमा १२ करोड गोटा ट्यावलेट, ८ करोड ५० लाख गोटा क्याप्सुल, १५ लाख लिटर झोल औषधि, ३ लाख केजी डाई पाउडर र एक करोड ट्युव मल्हम उत्पादन गर्ने गरेको छ । बार्षिकोत्सव समारोहमा १५ वर्ष सेवा गरेका कर्मचारी र यही माघ १३ गते भएको देउरालीयन्स रनका बिजेता कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
Leave a Reply