मीनबहादुर देउवा,
नेपालीहरुले प्रत्येक कुरालाइ सहज तथा हलुका रुपमा लिएको पाइन्छ । बिद्यमान परिस्थितिमा पनि आम नागरिकले आफ्नो स्वास्थ्यमा भयङ्कर लापरबाहि गरेको जताततै छर्लङ्ग छ । यसै स्वास्थ्य अन्तर्गतको दाँत तथा मुख स्वास्थ्यको बारेमा भने अहिले पनि धेरै मानिसहरु अचेतन नै रहेको जस्तो देखिन्छ । यसका अलावा दाँतलाइ सामान्य लिने, दाँत तथा मुखलाइ शरीरको अङ्ग नै नमान्ने र जनचेतनाको कमि जस्ता याबत समस्याले गर्दा प्रत्येकको मुख स्वास्थ्य ओझेलमा परेको छ । विश्वमा अहिले कोरोना भाइरस माहामारिको रुपमा भयाभय छ । संसारले ठूलै मानविय क्षति ब्यहोर्नु परिराखेको छ । एक माहामारिले अरु बिपद्लाइ पनि सारथी बनाइराखेकोले यसबाट उत्पन्न समस्याले फेरिपनि मानव जिवनको अस्तित्व संकटमा पर्न सक्ने सम्भावनाको त्रास पनि मान्छेमा रहेको देखिन्छ । यो सबै सङ्कटले अबश्य पनि मानव जातिलाइ सचेत गराएको हुनुपर्छ । यस्तो बिपद्को बेलामा नेपालमा पनि प्रायजसो मानिसहरुले धेरै स्वास्थ्य समस्याहरु झेलिरहेका छन् । मानिसहरु घरभित्रै बन्द हुनु र निश्चित समुदायमा सिमित रहनाले अझ बढी दाँत तथा मुख स्वास्थ्य समस्याले ठुलो रुप लिइराखेको छ ।
के हो दाँत तथा मुख स्वास्थ्य
सामान्य अर्थमा मुखलाइ हाम्रो शरिरको मुख्य ढोकाको रुपमा लिइन्छ जस अन्तर्गत गला, ओठ, ,तालु, दाँत,गिजा, जिब्रो, कण्ठ आदि पर्दछन् । हामि मुखको माध्यमबाट नै नियमित आहार ग्रहण गर्दछौँ तर हामि यसै मुखलाइ भने बेवास्ता गर्छौँ ।मुखभित्र रहेका दाँतले पनि शरिर सन्तुलित राख्न महत्त्वपुर्ण भुमिका खेल्दछन् । संसारका धेरै राष्ट्रहरुले दाँत तथा मुखलाइ ठूलो महत्त्व दिन्छन । मुखभित्र रहेका सबै दाँतको आ( आफ्नै काम र भिन्न भिन्नै आकार प्रकार रहेको हुन्छ । तर प्राय नेपालीहरु हात धुने र दाँत माझ्ने कुरालाइ पटक्कै महत्त्व दिदैनन् । यसकै उपजको रुपमा मानिसले माहामारि र मुख क्यान्सर जस्ता प्राणघातक रोगबाट अकालमै आफ्नो अमुल्य जिवन गुमाउनु परिराखेको छ । यसकारण रोग लागेर मर्नु भन्दा बेलैमा साबधानि अपनाउनु बेश हुन्छ ।
दाँत तथा मुख स्वास्थ्यका कारणहरु
दाँत तथा मुखमा समस्या ल्याउने भनेकै मान्छेको आनिबानी नै हो । मानिसले दिनहुँ तिन चार पटक बिभिन्न खाद्यपदार्थ दाँत तथा मुखको सहायताले नै खाने गर्छन् तर तिनिहरुले दिनको दुइपटक राम्रो सँग ब्रस भने गर्दैनन् । मानिसले खानामा पनि ध्यान दिनु उत्तिकै जरुरि हुन्छ । नियमित सन्तुलित तथा पौष्टिक आहार सेवन गर्नु हितकारी मानिन्छ । सुर्तिजन्य पदार्थ,पेय पदार्थ, धुम्रपान जस्ता हानिकारक बस्तुले दाँत र मुखमा जटिल समस्या उत्पन्न गर्दछ । यसका साथै बिभिन्न बंशाणुगत रोग र अन्य दिर्घ रोगले पनि दाँत तथा मुखको समस्या निम्त्याउँछ । दाँतमा समस्या भएमा बिभिन्न रोग त निम्याउँछ नै साथसाथै सुन्दरतालाइ पनि कुरुप बनाउँछ ।
दाँत तथा मुख स्वास्थ्यमा पर्ने समस्याहरु
दाँतको सडन हुनु ।
गिजा पाक्नु तथा गिजामा घाउखटिरा आउनु ।
ओठमा घाउखटिरा आउनु ।
दाँतमा किरा लाग्ने रोग लाग्नु ।
गिजाको रोग लाग्नु ।
दाँतमा असह्य दुखाइ हुनु ।
दाँत तथा मुखमा घाउ चोटपटक लाग्नु ।
मुख क्यान्सर आदी ।
धेरै मानिसहरुले गुट्का र सुर्ति खाएर मुख दुर्गन्धित बनाएका हुन्छन । बिभिन्न सार्बजनिक स्थललाइ समेत यस्ता ब्यक्तिहरुले कुरुप पारिराखेका हुन्छन । तर यस्ता खाले मान्छेहरु आफुलाइ नै महान ठान्दछन । यस्तै बानि भएका व्यक्तिहरुका कारणले नै दाँत र मुखको समस्या बिकराल भइराखेको छ ।
नेपालमा दाँत तथा मुख स्वास्थ्यको बर्तमान अबस्था
विश्वको परिप्रेक्ष्यमा अल्पबिकसित मुलुकमध्यको नेपालमा दाँत तथा मुख स्वास्थ्यको समस्या बिकराल रहेको छ । देशका प्रगतिशील सहरमा स्वास्थ्य समस्या यथावत नै छ भने दुर दराज एबम् ग्रामिण समुदायमा यस्को असर नहुने कुरै भएन । बिभिन्न दुर्घटना र दाँत तथा मुखको रोगका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको पाइन्छ । देशका ग्रामिण समुदायमा डेन्टल क्लिनिक,दन्त स्वास्थ्यकर्मि र दन्त चिकित्सकको न्यूनता एबम् सरकारि अस्पताल,प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्यचौकिमा दाँत तथा मुख स्वास्थ्य सेवाको अभाव जस्ता थुप्रै समस्याहरु रहेका छन । नेपालमा प्राइभेट डेन्टल हस्पिटल, प्राइभेट क्लिनिक, र मुख स्वास्थ्यलाइ बढावा दिने सरकारि एबम् गैह्रसरकारि निकायहरुको सकृयता न्यून रहेको छ । बोलीचालीकै भाषामा दाँतलाइ पटक्कै महत्त्व नदिनाले पनि यस देशका गरिबिको रेखामुनि रहेका मानिसहरु दाँत र मुखको समस्याबाट पिल्सिएका छन ।
सरकारि निकायको हेपाहा प्रवृतिले दाँत तथा मुख स्वास्थ्यमा सौतेलो ब्यवहार प्रष्टै देखिन्छ । राज्यले दाँतलाइ पटक्कै चिनेको छैन,कि त राज्यको निति निर्माणमा रहेका मानिसहरुलाइ दाँतले दुःख दिएकै छैन । नेपालमा झण्डै ३८०० सङ्ख्यामा दाँतका डाक्टर र २४०० को संख्यामा दन्त स्वास्थ्यकर्मीहरु आधिकारिकरुपमा दर्ता भएका छन तर यिनिहरुको उपस्थिति भने राज्यको सम्बन्धित निकायमा शुन्य बराबर नै रहेको छ । यी दक्ष जनशक्तिमध्येका केहि बिदेशमा छन भने बाँकि जनशक्ति बिभिन्न प्राइभेट संस्थामा कार्यरत रहेको देखिन्छ । यति थोरै जनशक्तिले देशका करिब ३ करोड जनसंख्यालाइ कसरी सेवा प्रदान गर्लान् रु सोचनिय बिषय छ त्यसमा पनि सरकारले लोकसेवा मार्फत दरबन्दि कायम गरेको देखिदैन्। यदि यस्ता गम्भिर बिषयलाइ राज्यले मतलबै गर्दैन भने यस पेशाप्रतिको गरिमा खस्किदै जान्छ । साथसाथै महङ्गो शुल्क तिरि पढेर यस पेशामा रुमल्लिएका जनशक्तिको पिडाले गर्दा दाँत र मुख स्वास्थ्यमा ठुलो चुनौति थपिएको देखिन्छ । शरिरमा सुन्दरताको खानी भनेकै अनुहार हो । भनिन्छ सुन्दरताले नै मान्छेको ब्यक्तित्त्व झल्काउछ त्यसैले सुन्दरता हुनु भनेकै दाँत तथा मुखसंग सम्बन्धित भागहरु स्वस्थ र निरोगि हुनु हो । हामिले खाएको खाना मुखमा भएको दाँतले राम्रोसित चपाएन भने गलाले निल्न र पेटले सजिलै खानालाइ शक्तिमा रुपान्तरण गर्न सक्दैन ।
अहिले नेपालमा कोरोना भाइरस माहामारिको प्रभाव भयाभय छ । सङ्क्रमितको सँख्या र मृत्युदर दिनानुदिन बढ्दैछ । यस बिषम परिस्थितिमा दाँत र मुखका रोगीलाइ पनि ठुलो समस्या आइपरेको छ । कोरोना सँक्रमणको डरले दाँतका बिरामिहरु दाँतको अस्पताल तथा क्लिनिकहरुमा जानसकेका छैनन् । सहजरुपमा यातायात सुचारु पनि नभएकोले दुरदराजका दाँतका बिरामिहरुले निकै दुःख झेलिरहेका छन्। देशमा मानिसलाइ रोग र भोगले मार्दैछ । यो जटिल अबस्थामा दाँतको बिरामिसंग कुनै बिकल्प रहेको देखिदैन ।सँगसंगै दन्त स्वास्थ्यकर्मि र दाँतका डाक्टरलाइ पनि नियमित सेवा सुचारु गर्न निकै कठिनाइ रहेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन भौतिक दुरि कायम गर्ने र मुखमा मास्क लगाउने जस्ता साबधानिहरु अपनाउनुपर्ने हुन्छ तर दाँतका डाक्टर र दन्त स्वास्थ्यकर्मिले बिरामिसँग नजिकको दुरिमा रहेर अझै भन्ने हो भने टाँसिएर काम गर्नुपर्ने हुन्छ । बिरामिको थुक र खकारसित खेल्नुपर्ने हुन्छ । त्यसैले पनि दाँत र मुखको उपचारमा संलग्न व्यक्तिहरु कोभिड १९ रोगको उच्च जोखिममा रहेका छन । अब यसको समाधानको लागी राज्यले बैकल्पिक उपायहरुलाइ गम्भिरतापुर्बक अगाडि बढाउन अनिवार्य रहेको देखिन्छ।
दाँत तथा मुख स्वास्थ्य समस्या समाधानका उपाय र चुनौतिहरु
दाँत र मुख स्वास्थ्य समस्याको समाधान भनेको राज्य अथवा सरकार हो । नेपालमा भएका दाँत तथा मुख स्वास्थ्य सेवामा संलग्न रहेका दाँतका डाक्टर र दन्त स्वास्थ्यकर्मिको लागि लोकसेवा आयोगबाट बिज्ञापन खोलि दन्त स्वास्थ्य सेवालाइ व्यवस्थापन गर्नुपर्ने हुन्छ । नेपालमा दाँत र मुख स्वास्थ्यमा काम गर्ने ब्यक्ति, संघसंस्था र अन्य निकायलाइ नियमसङ्गत काम गर्ने वातावरण मिलाउनु जरुरि देखिन्छ । प्राइभेट संस्थामा राज्यले बैकल्पिक दन्त स्वास्थ्य सेवा ब्यवस्थापन गर्नुपर्ने देखिन्छ । सरकारि अस्पताल र प्राथमिक स्वास्थ्यकेन्द्रसम्म दाँतका डाक्टर र दन्त स्वास्थ्यकर्मिको दरबन्दि कायम गर्नुपर्ने हुन्छ । देशका दुर्गम ग्रामिण भेकसम्म दन्त स्वास्थ्य सचेतनाका कार्यक्रम लागु गर्नुपर्ने हुन्छ ।
यसमा उल्लेख्य काम गर्नका लागि राज्य र यस सँग कार्य गर्ने सम्बन्धित ब्यक्तिहरुसँग ठुला चुनौतिहरु रहेका हुनसक्छन तथापि सरकार अग्रसर हुने हो भने यस क्षेत्रमा खासै समस्या देखिदैन । तर सरकार बिभिन्न कठिन घडिमा कानमा तेल हालेर सुतेको देखिन्छ । यहिले देशमा ठुलो माहामारि छ । बिभिन्न ब्यक्ति तथा व्यवशायहरु धरासाहि अबस्थामा परेका छन । काम गरेर खाने वातावरणको सृजना हुनसकेको छैन । यो अबस्था अझै धेरै लामो समयसम्म लम्बिने देखिन्छ । काम गर्ने हातहरु शुन्य छन् । भोकले पेटमा लात हानिरहेको छ । यसले अन्य समस्याहरु पनि संगसँगै बोकिराखेको छ । नेपाल राज्यकै अबस्था दयनिय भैसकेको छ । अब सरकारबाट ढिला नगरि यस्ता दाँत तथा मुख स्वास्थ्यको क्षेत्रमा ठोस कदम चालियोस र दाँत तथा मुख स्वास्थ्यको क्षेत्रमा काम गर्ने पेशाकर्मिको भबिष्य सुरक्षित बनोस ।
(देउवा दन्त स्वास्थ्यकर्मी हुन । )
Leave a Reply