हेल्थ टुडे,
काठमाडौं, २८ असार : नक्कली कागजात तयार पारेर गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा नेपाल प्रहरीको मानव तस्करी नियन्त्रण व्यूरोले चितवनको भरतपुर मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा.सुप्रभात श्रेष्ठ र प्रत्यारोपणको नेतृत्व गर्ने डा. रोकश बर्मा सहित १२ जनालाई पक्राउ गरेको छ ।
भरतपुर मेडिकल कलेजमा २०७६ साल जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएका ललितपुरका ५७ बर्षिय पुरुषलाई मिर्गौला दान दिने व्यक्ति भक्तपुरका २७ बर्षिय युवकसंग उनको कुनै नाता नपर्ने भए पनि पक्राउ परेकाहरुको मिलेमतोमा उनलाई सक्कली भान्जा बनाएर फर्जी कागजात तयार गरेर प्रत्यारोपण गरेको पाइएको व्यूरोको अनुसन्धानले देखाएको छ ।
नौ महिना लामो अनुसन्धानपछि प्रहरीले अवैध मिर्गौला प्रत्यारोपणको घटनामा नेपाल मेडिकल काउन्सिलको कार्यकारी समितिका सदस्यसमेत रहेका मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले, जिप्रका चितवनमा कार्यरत अधिकृत रामचन्द्र ढकाल, काठमाडौंको नोबेल अस्पतालका डा. राकेशकुमार बर्मा, अस्पतालका डाक्टर बालकृष्ण कालाखेती, ललितपुर महानगरपालिका वडा ३ का अध्यक्ष गोपाल महर्जन, जिप्रका ललितपुरका अवकाशप्राप्त खरिदार नवराज केसी, भक्तपुर नगरपालिका वडा नम्बर ६ बस्ने जमुना राजभण्डारी र जिप्रका ललितपुरका कार्यालय सहयोगी रहेका छन । त्यसैगरि पक्राउ पर्नेमा रेश्मा राई, असई भीम खनाल, सई योगेन्द्र थपलिया पनि छन । अस्टेलियामा रहेको भान्जाको काजजातको आधारमा भक्तपुरका ती युवकको नक्कली कागजात बनाइएको प्रहरीको दावी छ ।
मिर्गौला दान दिने नक्कली भान्जालाई १० लाख दिने भन्दै फकाएर मिर्गौला लिन सफल भएपछि यो गिरोहले ती युवकलाई दुई लाख रुपैयामात्र दिएपछि यो घटना सार्वजनिक भएको हो । मिर्गौला तस्करीको घटनामा प्रहरी नै जोडिनुलाई मिर्गौला तस्करीको जालो कतिसम्म पुगेको रहेछ भन्ने देखाउछ ।
प्रहरीले पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ । मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ ले परिवार र एकाघरबाहेक व्यक्तिको मिर्गौला लिन वा दिन निषेध गरेको छ । ३९ प्रकारका नाताभित्रका व्यक्तिले मिर्गौला दान दिन सक्ने संसोधित ऐनमा व्यवस्था छ ।
Leave a Reply