हेल्थ टुडे,
काठमाडौं, ६ साउन : कोरोना भाइरस महामारीका कारण चैत ११ देखि सुरु भएको लकडाउन करिव ४ महिनापछि मंगलबार रातीबाट खुलेको छ । त्यसका साथै सरकारले भदौ १ बाट सिमित सेवाहरु बाहेक सबै व्यवासाय र सेवाहरु खुल्ला गर्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार एवं अर्थ मन्त्री डा.युवराज खतिवडाले भदौ १ गतेबाट केही सेवाहरु बाहेक सुरक्षित मापदण्ड अपनाएर अन्तराष्ट्रिय उडान, यातायात र केही शैक्षिक गतिविधि लगायत अरु अन्य सेवाहरु संचालन गर्न अनुमति दिएको जनाकारी दिए । भदौ १ गते बाट यातायात मन्त्रालयले तोके बमोजिम स्वास्थ्य सेवाको मापदण्ड अपनाएर लामो र छोटो दुरीका निजी र सार्वजनिक सवारी साधन चलाउने सरकारले अनुमति दिएको छ । यस्तै भदौबाट नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान संचालन र अन्तर्राष्ट्रिय खेलको तयारी र प्रशिक्षणका लागि मन्त्रिपरिषद्ले स्वीकृती दिएको छ ।
लामो समय बन्द रहेको विद्यालयहरु भने बन्द नै रहनेछन् । तर भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको छ । सरकारले होटल, रेष्टुराँ खोल्न अनुमति दिएको छ। तर त्यहाँ सामुहिक भोज, ठूलो समूहमा भेला भने हुन भने पाइने छैन। साथै ट्रेकिङ र पर्वतारोहणसम्बन्धी सेवाहरु पनि संचालन गर्न दिने निर्णय गरिएको। यसरी संचालन हुने व्यवसायहरुले स्वास्थ्य मापदण्डहरु भने पालना गर्नुपर्नेछ । सरकारले लुज लकडाउनलाई निरन्तरता दिँदै शैक्षिक संस्था, प्रदर्शनी, भेला, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिक स्थल अर्को मिति नभनेसम्म बन्द रहने जनाएको छ। साथै अन्तराष्ट्रिय सीमा पनि बन्द रहनेछ ।
Leave a Reply