हेल्थ टुडे,
काठमाडौँ, १९ साउन : नेपाल औषधी उत्पादक संघको अध्यक्ष पदमा विप्लव अधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेद्धारी दिएका उनका प्रतिस्पर्धी दीपक दाहालले उम्मेद्धारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत रुपमा अध्यक्ष बन्ने बाटो खुलेको हो । त्यसअघि दाहालले उठाएका मुद्धालाई अधिकारीले समेटेर अघि बढ्ने गरी सहमति भएको थियो ।
अध्यक्षमा निर्वाचित अधिकारी एपोनका पूर्व महासचिव हुन् । अघिल्लो पटक अध्यक्ष पदमै उठेर पराजित बनेका उनी यसपटक भने सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । उम्मेद्धारी फिर्ता लिएका दाहाल एपोनमा एक कार्यकाल अध्यक्ष भई सकेका व्यक्ति हुन् । यसपटक देखि अध्यक्ष, निवर्तमान अध्यक्ष सहित सात जना पदाधिकारी र छ जना सदस्य सहित कुल १३ जनाको कार्यसमिति रहने छ ।
नेपाल औषधी उत्पादक संघ (एपोन) ११ सदस्यीय कार्यकारी पदमा पनि सहमति भएको छ । अध्यक्ष पदमा सहमतिमा विप्लव अधिकारी चुनिएपछि ११ सदस्यीय कार्यकारी पदमा पनि सहमति भएको हो । सहमतिबाट प्रभात रुङ्गटा, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ र गिरीराज पाठक ( गणेश) सदस्यमा छानिएका छन् । यस्तै शैलेश वैद्य, सजलराज रेग्मी, पृथ्वी राज भण्डारी, सन्तोष बराल र प्रवन दाहाल पनि सर्वसम्मत रुपमा सदस्य पदमा छानिएका छन् । यसअघि ११ पदका लागि १५ जनाको उम्मेद्धारी परेको थियो । अध्यक्षमा सहमति भएपछि सदस्यहरुमा पनि सहमति हुनु पर्ने आवाज उठेको थियो । बैठकले पूर्व अध्यक्षहरुलाई सदस्यहरुको टुंगो लगाउन कार्यदेश दिएको थियो ।
नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Leave a Reply