हेल्थ टुडे,
काठमाडौं, ११ असार : २१ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ जना मन्त्री पाएको छ । जेठ २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र राज्यमन्त्री नवराज रावत थिए । सोही दिन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को हेरफेर गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङलाई नियुक्त गरेका थिए । जेठ २१ कै दिन मन्त्री त्रिपाठी र राज्यमन्त्री रावत विदा भए । तामाङ मन्त्री नियुक्त भएको १९ औं दिन पदमुक्त भए । सर्वोच्च अदालतले उनको नियुक्ती संविधानसम्मत नभएको भन्दै उनलाई कामकाज गर्न नगराउन बन्देज लगाएपछि उनी पनि विदा भए । तामाङ विदा भएको तेश्रो दिन ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिएका छन ।
२१ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आउने श्रेष्ठ चौथो मन्त्री हुन । उनलाई स्वास्थ्य, शिक्षा सहित पाँच वटा मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । देश महामारीको संकटबाट गुज्रिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हाल्ने मन्त्री स्थिर हुनु पर्नेमा कामचलाउ प्रधानमन्त्रीले सत्ता सम्हालेदेखि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्थिर मन्त्रालय बनाए । साडे तिन वर्षमा स्वास्थ्यमा ७ जना मन्त्री बनेका छन् ।
पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, नवराज राउत, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ हुदै अहिले कृष्णगोपाल श्रेष्ठसम्म पुगेको छ । यसरी पटक पटक मन्त्री फेरवदल भइरहदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अस्थिर भएको जनस्वास्थ्यविज्ञ बताउछन् । कोरोना महामारीका बेला भिजन र पूर्ण समय दिनसक्ने मन्त्री नियुक्त हुनु पर्नेमा पाँच मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने गरि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठले स्वास्थ्यलाई कति महत्व दिएर काम गर्न सक्छन भन्ने प्रश्न उब्जिएको स्वास्थ्यका एक अधिकारीले बताए ।
मन्त्री मात्र नभएर ओलीले पटक पटक स्वास्थ्य सचिवको फेरबदल गरेर मन्त्रालयलाई अस्थिर बनाएका छन । साडे ३ बर्षमा ६ जना स्वास्थ्य सचिवमा फेरबदल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सक सचिव हुने नियमलाई हटाएर ओली नेतृत्वको सरकारले चिकित्सक सचिवको दरबन्दी समेत खारेज गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जस्तो प्राविधिक मन्त्रालयमा समेत प्रशासन तर्फका कर्मचारीलाई सचिव बनाएका छन् ।
Leave a Reply