रक्त परिक्षणमा प्रयोग हुने अत्याधुनिक मेसिन बायो केमेष्ट्री एनालाइजर पहिलो पटक जावलाखेलस्थित सम्यक ल्यावमा जडान गरि प्रयोगमा ल्याइएको छ । ल्याव लाइन ट्रेडर्सले विश्व बजारमा भरपर्दा मानिएको रक्त परीक्षण उपकरण पहिलो पटक नेपाल ल्याएको हो । राजधानीमा आयोजित समारोहमा ल्याव लाइनले यसका बिषयमा जानकारी दिएको छ ।
अमेरिकास्थित अबोट डाइगोनिष्टिक कम्पनीद्वारा निर्मित यो मेसिन विश्वभरि नै प्रयोगमा रहेको ल्याव लाइन ट्रेडर्सका प्रवन्ध निर्देशक फणिन्द्र गिरीले बताए । अबोट हेल्थ केयर प्रालीका डाइग्नोष्टिक डिभिजनका सेल्स स्पेसलिष्ट बद्री नेपालीका अनुसार आर्किटेक्ट १००० एसआर मोडलको यो मेसिनबाट जटिल रोग पत्ता लगाउन रगत परीक्षण गरिनेछ । यो उपकरणको प्रयोगबाट हुने रगत परीक्षणबाट क्यान्सर, थाइराइड, बोन मेटाबोलिजम, बाँझोपन, एचआइभीलगायत जटिल रोगहरु सजिलै पत्ता लगाउन सकिने प्रवन्ध निर्देशक गिरीले जानकारी दिए । यो मेसिनको सहायताले जटिल रोगहरु पनि प्रारम्भिक चरणमा सजिलै पत्ता लाग्ने भएकाले बिरामीको उपचार सहज हुने दाबी गिरीको छ ।
यो उपकरणको सहयोगमा मिर्गौलाको अवस्थाका विषयमा पनि परीक्षण गर्न सकिन्छ । नेपालमा पहिलो आईएसओ चिन्ह प्राप्त पहिलो ल्यावको रुपमा आफूलाई चिनाएको सम्यकले यो मेसिनको सञ्चालन पछि थप सेवामा पनि आफूलाई अगाडि उभ्याउन सफल भएको छ ।
Leave a Reply