सन्ध्या केसी
काठमाडौं : १५ देखि ४९ वर्ष उमेरसमूहका महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा सेवाहरू प्रयोग गरिरहेका छन् । तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधिको प्रयोग गरिरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले देखाएको छ । सबैभन्दा बढी प्रयोग हुने साधनमा महिला बन्ध्याकरण १५ प्रतिशत, तीनमहिने सुई ९ प्रतिशत, पुरुष बन्ध्याकरण ६ प्रतिशत, खानेचक्की ५ प्रतिशत, कण्डम ४ प्रतिशत, इम्पलान्ट ३ प्रतिशत र आईयूसीडी १ प्रतिशत छ । आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्नेको तुलनामा परम्परागत विधिको प्रयोग गर्नेको संख्या बढ्दो छ । १९९६ मा ६ प्रतिशत रहेको यो विधि अहिले १० प्रतिशत पुगेको छ । तर आधुनिक साधनको प्रयोग गर्ने २९ प्रतिशत बल्ल ४३ प्रतिशत पुगेको छ ।
पढेलेखेका महिलाभन्दा नपढेका महिलाले परिवार नियोजनका साधन बढी प्रयोग गर्ने गरेको पाइएको छ । कण्डम नलगाई यौन सम्पर्क गर्दा यौन सन्तुष्टि प्राप्त हुने विश्वासका कारण कण्डम प्रयोग गर्नेको संख्या बढ्न सकेको छैन । अपढेका महिला (एसएलसीभन्दा माथि) मध्ये ३४ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन् भने नपढेकामध्ये ५२ प्रतिशतले साधन प्रयोग गर्ने गरेका छन् । कानुनले विवाह गर्ने उमेर कम्तिमा पनि २० वर्ष हुनुपर्ने तोकेको छ । कलिलै उमेरमा विवाह गर्दा स्वास्थ्य अवस्थामात्र नभएर व्यक्तिको आर्थिक, समाजिक अवस्था पनि कमजोर हुने भएकाले विवाह गर्ने उमेर २५ देखि माथि हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । तर सर्वेक्षणले ५२ प्रतिशत महिला १८ वर्ष नपुग्दै विवाहबन्धनमा बाँधिने गरेको पाइएको छ । नेपालमा महिलाले यौनसम्पर्क सुरु गर्ने उमेर १८ वर्ष रहेको पाइएको छ भने पुरुषले २० वर्षमा यौन सम्पर्क राख्ने गर्छन् ।
पढेलेखेका महिलाभन्दा नपढेका महिला ४ वर्षअगाडि नै यौन सम्पर्क सुरु गर्ने गरेको सर्वेक्षणले देखाएको छ । ११ प्रतिशत महिला त १५ वर्ष नपुग्दै यौनसम्पर्क गर्ने गरेका छन् भने ५१ प्रतिशतले १८ वर्ष नपुग्दै यौनसम्पर्क गर्ने गरेको पाइएको छ । महिलाहरू विवाह भएको अढाई वर्षभित्रमा नै पहिलो बच्चा जन्माउँछन् । उनीहरूले पहिलो बच्चा जन्माउने मध्यउमेर २० वर्ष हो ।
Leave a Reply