हेल्थ टुडे,
युवावयमा हरेकका रंगीन सपना हुन्छन् । अनेक चाहना हुन्छन् । र धेरै योजना हुन्छन् । तीं सबैको परिपूर्ति इच्छाले मात्रै हुँदैन, अर्थ अर्थात पैसाको पनि उत्तिकै आवश्यकता हुन्छ । विक्रम संवत २०४२ सालमा दन्त चिकित्सकको पढाई (बिडिएस) पुरा गर्दा प्रविण मिश्र २२ वर्षको उँम्दो उमेरका थिए । खाइलाग्दो उमेरमा डाक्टर बनेका मिश्रको पनि आफ्नैखाले सपना थियो । योजना थियो । डाक्टरका रूपमा सरकारी सेवामा प्रवेश गरेका उनको पोष्टिङ जनकपुरमा भयो । सन् १९६२ मा महोत्तरीको पिपरामा जन्मिएका मिश्रको प्राथमिक शिक्षा भारतको जवाहरनगरको सेन्टर स्कुलमा भएको थियो । पिताजी डा. ज्वालाप्रसाद त्यति बेला उच्च शिक्षा अध्ययनका लागि भारतमा थिए । पढाइ सकेर पिताजी स्वदेश फर्कँदा प्रविण पनि स्वदेश आए । त्यसपछि उनको अध्ययन धनुषाको गोकुलप्रसाद माविमा सुरु भयो । प्रविण त्यहाँ कक्षा ७ मा भर्ना भए । त्यहीबाट एसएलसी पास गरेका प्रविणले आईएसस्सी भने जनकपुरको रामस्वरुप कलेजबाट गरे ।
पढाइमा मात्रै अब्बल नभएर उनको चतुर र जिज्ञासु स्वभाव सानैदेखिको थियो । गृहकार्य गरेर शिक्षकको मन जित्नेमात्रै नभएर उनी कक्षामा सबैका प्रिय पात्र थिए । आईएस्ससी सकेर उनले बिडिएस ( ब्याचलर अफ सर्जरी ) दन्त चिकित्सक बिषय पढ्न बम्बैको नायर युनिभर्सिटीमा आवेदन गरे । पिताजी दन्त चिकित्सक भएकाले पनि प्रविण यस पेसाप्रति आकर्षित थिए । त्यसो त पिताजीको सोच, संस्कार र विचारले नै प्रविणलाई आजको अवस्थामा उभ्याएको हो । पिताको लगन, मिहिनेत, इमान्दारीता र समाजसेवाबाट उनी प्रभावित बनेका थिए । प्रविणले बिडिएसमा अध्ययनका लागि दिएको आवेदन नायर युनिभर्सिटीले स्वीकार गर्यो । त्यसपछि त के ! उनको सपनाको गन्तव्य नजिकै देखिन थाल्यो । सोही युनिभर्सिटीबाट उनले विसं २०४२ मा दन्त चिकित्सकको पढाई पुरा गरे ।
पढाइ पुरालगत्तै प्रविण स्वदेश फर्किए । स्वदेश फर्कने बित्तिकै सरकारी सेवा सुरु गरेका डा. प्रविणले आठ वर्षसम्म जनकपुरमै बसेर सेवा गरे । त्यहीताका प्रजातान्त्रिक आन्दोलन चरमतामा पुग्यो । त्यति बेला उनी जनकपुरको चिकित्सक संघको महासचिव भैसकेका थिए । जनताको स्वास्थ्य सेवा मात्रै नभएर उनले अब स्वतन्त्रताको लडाइँमा पनि योगदान गर्नुपर्ने भयो । चिकित्सकहरूले जनआन्दोलनको समर्थनमा विभिन्न कार्यक्रम गर्न थाले । पञ्चायती शासकहरूले आन्दोलनकारीलाई गोली हान्ने धम्की दिइरहेका थिए । एक दिन डा. प्रविणलाई जनकपुरका तत्कालिन अञ्चलाधिसले मध्यरातमा फोन गरेर भने,‘चिकित्सक आन्दोलन रोकेनौ भने तिमीमाथि गोली बर्सन्छ ।’ त्यो धम्कीले डा.प्रविणको दृढतामा कुनै हलतच ल्याएन । बरु आन्दोलनलाई थप शसक्त बनाउने उत्साह मिले झैँ भयो । यद्यपी गोली खाइने डरले चिकित्सक संघका अध्यक्षले राजीनामा नै दिए । जनआन्दोलनताका चिकित्सकहरूको सबल नेतृत्व प्रदान गरेपछि उनको सबैतिर चर्चा हुन थाल्यो । डा. प्रविणको व्यवसायिक दक्षता र प्रजातन्त्रप्रतिको दृढताले तत्कालिन जनआन्दोलनका नेता डा. रामबरण यादव (पूर्व राष्ट्रपति) प्रभावित भए । त्यही घटनाक्रमले प्रविणको चिनजान डा यादवसंग भयो ।
उर्वर जवानीमा डाक्टर बनेका प्रविणलाई समय छँदै पैसा कमाउने लहड नचलेको होइन । तर त्यो इच्छा र उदेश्यमा उनका पिताजीको एउटै वाक्यले परिवर्तन ल्याइदियो । प्रविणले पिताको वचन उद्धृत गर्दै भने,‘ पेसाप्रति इमान्दार बन, सेवाभाव राख, पैसा आफै तिम्रो पछि दगुरेर आउँछ ।’ मुलुकमा प्रजातन्त्र आएपछि डा प्रविण दन्त चिकित्सामा थप विशेषज्ञता हासिल गर्ने योजनामा लागे । उनी विसं २०५० मा विश्व स्वास्थ्य संगठनको छात्रवृतिमा स्नातकोत्तर एमडिएस पढ्न कर्नाटकको मणिपाल युनिभर्सिटीतिर हानिए । पाँच वर्षको कोर्ष प्रविणले दुई वर्षमै पुरा गरे । तीन वर्षको छात्रवृत्ति बाँकी बचेको एक वर्षमा उनले पोष्टडक्टे«ड गरे, अर्थोडेन्टिक्समा । विशेषज्ञता हासिल गरेपछि उनी पुनः स्वदेश फर्किए । दातको बिशेषज्ञ भएपछि उनले वीर अस्पतालमा सेवा थाले । जुन समय वीर अस्पातलमा नाम मात्रको दाँतको सेवा उपलब्ध थियो । डा. मिश्र आएपछि दन्तसेवा विभागलाई सुविधा सम्पन्न विभाग बनाए । वीर अस्पतालको दन्त सेवा विभाग स्तरीय बनाउदै उनैले विसं २०५५ मा वीर अस्पतालमा पहिलो पटक दन्त चिकित्सामा एमडिएस ( मास्टर्स अफ डेन्टल सर्जरी ) को पढाई नै सुरु गरे । रमाइलो कुरा त के भने पहिलो पटक दन्त चिकित्सामा एमडिएस पढाई सुरु हुँदा उनका विद्यार्थी दुई जना मात्रै थिए । दन्त विभागको विभागीय प्रमुख हँुदै विसं २०६५ मा डा. प्रविण चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल ( न्याम्स ) को डिनको जिम्मेवारीमा पुगे । डिन भएको ६ महिनापछी २०६६ साउन ९ गते स्वास्थ्य मन्त्रालयको सचिवमा उनको नियुक्त भयो ।
सेवा प्रतिको समर्पण, पेसा प्रतिको इमान्दारी, सयममा उचित निर्णय गर्न सक्ने क्षमताले नै आफुलाई यो स्थानमा पु¥याएको उनी ठान्छन् । डा. प्रविणको यही गुणलाई हेरेर माधव नेपाल नेतृत्वको सरकारले उनलाई सचिवको जिम्मेवारी दिइएको थियो । पदीय जिम्मेवारीले उनलाई खुसी भन्दा थप जिम्मेवार र चिन्तित बनायो । डाक्टर मात्रै भएर सेवा गर्दा भोगेदेखेका समस्या, डिन हुँदा खड्किएका स्वास्थ्य क्षेत्रका कमजोरी कसरी सुधार्ने भन्ने हुटहुटी प्रविणको मनमा चल्न थाल्यो । डा मिश्रले तीन वर्ष स्वास्थ्य सचिव भएर काम गर्ने मौका पाए । उनी स्वास्थ्य सचिव भएपछि नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै नीति बने । नियम बने । उनकै कार्यकालमा नेपालले स्वास्थ्य क्षेत्रमा थुपै्र अन्तराष्ट्रिय स्तरका पुरस्कार प्राप्त ग¥यो । सहश्राब्दी विकास लक्ष अन्र्तगतका बाल मृत्युदर घटाउनेदेखि मातृ मृत्यु दर कम गर्ने र एचआईभीको संक्रमण दर घटाउने लक्ष पुरा गर्न उनको कार्यकाल फलिफापसिद्ध भयो । सूर्तिजन्य पदार्थ नियन्त्रण र निगमन गर्ने ऐन संसदबाट पारित गराउन डा. मिश्र सफल भए । धूमपान ऐन पास गराउछु भन्दा धेरैले हाँसोमा उडाउँथे । सूर्ति माफियाको अगाडि उनी झुकेनन् । दिन रात नभनी स्वास्थ्य क्षेत्रको स्पस्ट मार्ग कोर्न उनी लागिरहे ।
स्वास्थ्य क्षेत्रका नीति नियम र विधान बदल्ने मात्रै होइन उनले मिर्गौलाका रोगीहरूका लागि स्मरणीय काम उनैको पालामा हुन थयो । मुलुकमा मृगौला रोगी अपत्यारिलो किसिमले बढी रहेका भएपनि उपचारको सुविधा न्यून थियो । सरकारी स्तरमा वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा मात्र सेवा उपलब्ध थियो । वीरमा भएको प्रत्यारोपणको नाम मात्रको सुविधालाई उनैले भरपर्दो बनाए । सुविधा सम्पन्न अपरेसन थिएटरदेखि डायलासिस सेवाको सुरुवात डा मिश्रकै कार्यकालमा सुरुभयो । भक्तपुरमा छुट्टै मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरेर मिर्गौला प्रत्यारोपण सेवा सुरु गराए । अत्याधुनिक अपरेसन थिएटर सहित चालिस वटा डाइलासिस मेसिन सञ्चालनमा उनैको अगुवाइमा ल्याइए । विपन्न मिर्गौला रोगीहरूले निःशुल्क रूपमा डायलासिस सेवा लिने मौका उनैको पालादेखि पाउने मौका पाए । प्रत्यारोपण सेवा पनि सुरु भयो । सहर र सदरमुकाम मात्रै होइन ंदुर्गम मानिएको कर्णाली अञ्चलमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने योजना डा मिश्रकै सचिवकालमा ल्याइयो । कर्णालीको जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना सम्बन्धी ऐन व्यवस्थापिका संसदबाट पारित गराएर कार्यन्वयन त्यतीबेलै भयो । जीवनभर सेवा गने गर्ने तर कही मुल्याङ्ककन नहुने प्रवृतिको अन्त्य गर्दै डा मिश्रले उत्कृष्ठ काम गर्ने चिकित्सकलाई पुरस्कृत गर्ने चलन चलाए ।
प्रविणको कार्यकालमा स्वास्थ्यका धेरैजसो नीति नियम बने । २० वर्ष पुरानो राष्ट्रिय स्वास्थ्य नीति तयार भएर पारित भयो । स्वास्थ्य सञ्चार नीति, रक्त सञ्चार नीति, मानव संशाधन सम्बन्धी रणनीति, राष्ट्रिय मुख स्वास्थ्य नीति, नसर्ने रोगहरूको कार्ययोजना लगायतका दर्जनौ नीति बनेर कार्यन्वयनमा आए । प्रविण स्वास्थ्य सचिवको जिम्मेवारी सम्हाल्दा स्वास्थ्य मन्त्रालयको परफरमेन्स ६२ प्रतिशत थियो जसलाई उनले सय प्रतिशत पु¥याउने उदेश्य बनाए । जुन काम उनले सोचेजती सजिलो भने थिएन । उदेश्य प्राप्तिका लागि उनी रात दिन नभनी खटिरहे । त्यसका लागि डा मिश्रले हरेक दिनजसो क्षेत्रीय स्वास्थ्य निर्देशक र जिल्ला जनस्वास्थ्य प्रमुखसँंग अन्र्तक्रिया गर्नथाले । जे जे समस्या छन त्यसको समाधान गर्न उनले कुनै कमि राखेनन् । जसको स्वरुप उनले सय प्रतिशत परफरमेन्सको उदेश्यलाई ८२ प्रतिशत पु¥याउन सफल भए । त्यसको पछिल्लो वर्ष ८५ प्रतिशतमा पुग्यो । ऐन समावेशी नभएको भन्दै लोकसेवाले नयाँ भर्ना नलिएपछि जनशक्तिको अभाव हुँदाहँुदै पनि स्वास्थ्यका सूचकांक सन्तोषजनक रहनु चानचुने मेहनतको फल थिएन । त्यो इमानिदारिताका साथ गरिएको कामको परिणाम भएको उनको अनुभव छ । मिश्र सचिव भएर काम गर्दा दैनिक १२ घण्टा सम्म व्यस्त रहे । उनले घर, परिवार र आफन्त नभनी मुलुकको स्वस्थ्य अवस्था सुधार्न एकल अभियान थाले । उदेश्यका लागि पनि उनले शान्त भएर काम गर्न भने नपाएको अनुभव बटुले । दिउँसो राजनीतिक दलका नेताहरू भेटघाट, कर्मचारीका गुनासा सुन्न मै उनको समय खेर जान्थ्यो । कुनै पनि निर्णय अड्काएर नराख्ने उनको बानीले सफलता प्राप्तिमा सघाउ पुगेको उनको अनुभव छ । हुने कामलाई तुरुन्त हुन्छ भन्ने, नहुने काम हुदैन भन्ने मिश्रको गुण नै भन्न सकिन्छ । उनको यही गुणको प्रभाव स्वास्थ्य क्षेत्रमा परेको छ ।
एउटा प्रशासक, कर्मचारी अनि राष्ट्रसेवकले कति राजनीतिक उथलपुथल र दवावका बीच काम गर्नुपर्छ भन्ने गतिलो दृष्ठान्त पनि हुन डा मिश्र । उनले पाँच वर्षे सतिव कालमा उमाकान्त चौधरीदेखि माओवादीका शक्ति लम्सालसम्म, सदभावनामा राजेन्द्र महतोदेखि एमालेका खगराज अधिकारी र चुनावी सरकारका मन्त्री विद्याधर मल्लिकसम्म गरेर ८ जना मन्त्री व्यहोर्नु प¥यो । नेपालको स्वास्थ्य क्षेत्रलाई आसलाग्दो बनाउने एउटै उदेश्य बोकेका डा मिश्रलाई फरक विचार, आस्था र उदेश्यका मन्त्रीहरूसँंग काम गर्नु अवसर र चुनौती दुबै बन्यो । कति मन्त्रीले आफ्नो स्वार्थ अनुसार दवाब दिए । धेरैले अप्ठ्यारोमा पारे । तर मिश्रले कसैको दवावमा कानून बिपरित कुनै काम गरेनन् । मिश्र भन्छन, ‘कानूनले दिएको अधिकार बाहेक मन्त्रीले दिएको दवावका अगाडि कहिल्यै झुकिन ।’
त्यस क्रममा केही मन्त्री रिसाए पनि । उनले भने,‘एउटा मन्त्री रिसाउँछ भन्दैमा आम नागरिकलाई हानी हुने काम मैले गरिन ।’ मन्त्रीहरू मध्ये विद्याधर मल्लिकसँंग काम गर्दा आफूलाई केही सहज भएको मिश्रको अनुभव छ । भन्छन,‘ पूर्व प्रशासक भएकाले पनि हुनसक्छ । कुरा बुझाउन सजिलो हुन्थ्यो ।’ मिश्र चिकित्सा पेसाबाट प्रशासनमा आएकाले सचिव भएर मन्त्रालय हाक्नु चानचुने कुरा थिएन । तर उनले यसलाई चुनौतीभन्दा पनि अवसरको रूपमा लिए । काम गर्ने तौरतरिकामा कहिल्यै त्रुटी नहोस भनेर उनले कानूनको किताव सधैको साथी बनाए । त्यही कानूनलाई टेकेर उनले निर्णय गरे । डा मिश्रको कार्यकालमा विदेशी दातृ निकायसँंगको सम्वन्धमा पनि सौहाद्रपूर्ण रह्यो । कुनै पनि दातृ निकायले नेपालको स्वास्थ्य कार्यक्रममा प्रश्नचिन्ह उठाउने मौका पाएनन् । काम नगर्ने चिकित्सकलाई कारवाही गर्नमा पनि उनको कार्यकाल चर्चित बन्यो । तलव मात्रै खाने तर कार्यक्षेत्रमा नजाने करिब दुई सय चिकित्सक बर्खास्तीमा उनकै पालामा परे ।
सचिवको कार्यकालमा मात्र होइन ३० वर्षे सरकारी सेवाबाट समेत डा प्रविण संतुष्ठ छन । तिन वर्ष पहिले स्वास्थ्य सचिवबाट अवकास पाएका डा. मिश्र अहिले पनि नेपालको स्वास्थ्य सेवा सुधारको अभियानमा सक्रिय छन । सरकारी सेवापछि नयाँ शक्ति पार्टी प्रवेश गरेका डा. मिश्रले उक्त पार्टी छोडिसकेका छन अहिले । स्वास्थ्य क्षेत्रमा मौलाएको राजनीति र दण्डहिनताका कारण सोचेजस्तो प्रगति नभएको उनको अनुभव छ । भन्छन, ‘ स्वास्थ्यमा कार्यरत धेरै कर्मचारीलाई अझै थाहा छैन कि मैले तलव केका लागि पाएको छु भनेर । वाइरोडको बाटोबाट कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेका कर्मचारीहरूकै कारण सोचे अनुसारको प्रगति नभएको उनको दावी छ । स्वास्थ्यकर्मी राजनीतिक दलका कार्यक्रर्ता भएकै कारण धेरै कुरा सुधार्न नसकिएको अनुभव उनले संगालेका छन् । स्वास्थ्य मन्त्रालयको उच्चतम पदमा बसेर देशभर कार्यरत करिव ३० हजार भन्दा बढी कर्मचारीलाई नेतृत्व प्रदान गरेका मिश्रले स्वास्थ्य क्षेत्रमा केही प्रमुख चुनौति देखेका छन । उनको अनुभवमा पहिलो चुनौति भनेको अहिले स्वास्थ्यमा भएका प्रगतिलाई बचाइराख्नु हो । उनको नजरमा दोश्रो चुनौती भनेको उपचारात्मक सेवाको विस्तार हो । उनी भन्छन, ‘अहिलेसम्म हामी प्रिभेन्टिभ सेवामा फोकस भयौँ । तर अब सरुवा रोगकै हाराहारीमा नसर्ने रोगको संक्रमण पुगेको छ ।
त्यसैले नसर्ने रोगहरू ( मुटु, मिर्गौैला, कलेजो, क्यान्सर ) को उपचारमा पनि ध्यान दिनु आवश्यक छ ।’ उनको अनुभवमा नसर्ने रोग विरुदको लडाई चुनौतिपूर्ण छ । स्वास्थ्यमा रहेको अहिलेकै जनशक्ति र बजेटले काम गर्न सजिलो छैन । स्वास्थ्यको बजेट हरेक वर्ष घटिरहेकोमा पनि मिश्रको उत्तिकै चिन्ता छ । विकसित देशमा कुल बजेटको १० प्रतिशत रकम स्वास्थ्यमा खर्च हुने भएपनि नेपालमा पाँच प्रतिशत बजेट मुस्किलले छुट्ट्याइन्छ । अर्थ मन्त्रालयले स्वास्थ्यको समस्या राम्ररी बुझ्न नसकेको उनको अनुभव छ ।
‘अर्थ मन्त्रालयले सरकारी अस्पताललाई बजेट दिन कञ्जुस्याई गर्छ’ मिश्रले भने,‘स्वास्थ्यमा गरेको लगानीलाई लगानी नै नठान्ने प्रवितिले समस्या थपिएको हो ।’ बिजुली बले बिकास भएको मानिन्छ । सडक खने विकास ठानिन्छ । मिश्रले भने,‘जनता स्वस्थ्य भए विकास ठानिदैन ।’ स्वस्थ्य मानिसले अस्वस्थ्य मानिसको तुलनामा दश गुना उत्पादनमूलक काम गर्न सक्ने उनी बताउँछन् । जसले देश विकासमा ठूलो सहयोग पर्छ भन्ने कुरा अर्थका अधिकारीको सोचमा घुस्न नसकेको मिश्र बताउँछन । उनी भन्छन,‘मैलै धेरै बुझाउने प्रयास गरेँ, तर सकिन ।’
अर्थ मन्त्रालयले स्वास्थ्यलाई विनियोजन गरेको बजेटमा समेत हस्तक्षेत्र गर्ने गरेको उनले अनुभव संगालेका छन् । स्वास्थ्यले स्वतन्त्र रूपले खर्च गर्न पाउनुपर्ने उनको जिकिर छ । स्वास्थ्यको तेश्रो चुनौती होः स्वास्थ्यको समस्या स्वास्थ्यको हातमा मात्र छैन । मिश्र भन्छन, ‘सबै कन्ट्रोल स्वास्थ्यको हातमा हुँदैन तर अपजस स्वास्थ्यले लिनुपर्छ । ‘स्वास्थ्य मल्टिसेक्टोरल समस्या हो । खानेपानी सफा राख्ने जिम्मा स्वास्थ्यको होइन । स्वास्थ्य शिक्षा दिने सबै काम स्वास्थ्यले सक्दैन’ उनी भन्छन्,‘यो काम शिक्षा मन्त्रालयले गर्नुपर्छ । मानिसको व्यवहार परिवर्तन गर्न सबै मिलेर काम गर्नु पर्छ ।’ जुन समन्वय सदियौँदेखि हुन सकेको छैन । स्थानीय विकाससँंग सहकार्य गरेर काम गर्न थाले पनि अरू मन्त्रालयसँंग समेत सहकार्य गरेर अगाडि बढ्न आवश्यक भएको उनको बुझाई छ ।
देशमा खुलेका निजी स्वास्थ्य संस्थाको भूमिका प्रश्ट हुनुपर्ने मिश्र बताउछन । भन्छन, ‘जनतालाई सेवा दिन सहयोग गर्छौ भन्छन । तर गरौँ न भन्दा पैसाको मात्र कुरा गर्छन ।’ सेवाका लागि ठूलो पैसा डिमाण्ट गर्छन । सरकारले त्यो तिर्न सक्दैन । स्वास्थ्य मन्त्रालयमा गर्नु पर्ने काम र गर्न सकिने काम पनि भोली फसिने पो होकी भनेर नगरेर बस्ने प्रवृति रहेको मिश्र स्विकार्छन । ‘राम्रो नियतका साथ काम गर्नुपर्छ, डराउनु हुदैन’ मिश्र भन्छन्,‘ डराएर बस्ने अधिकारीले कुर्सी छोडिदिनु पर्छ ।’ स्वास्थ्य मन्त्रीहरू प्रति पनि मिश्रको गुनासो छ । ‘मन्त्री फेरियो भने उनको पार्टी निकटका कर्मचारी पनि मन्त्री सरहका हुन्छन’ उनले अनुभव सुनाए,‘मन्त्रीले पनि आफ्ना कर्मचारी भन्दा कार्यक्रर्ताको बढी विश्वास गर्ने प्रवृतिले समस्या थपिएको छ ।’ बर्षौ स्वास्थ्यमा काम गरेका अनुभव संगालेका स्वास्थ्यका अधिकारीको सल्लाह नै नलिने चलन रहेको उनले पाएका छन् । ‘स्वास्थ्यको ‘स’ सम्म नबुझेका व्यक्ती सल्लाहकार हुने यो नियम कहाँबाट आयो ?’ उनी प्रश्न गर्छन । स्वास्थ्य सचिवलाई नीति नियम बनाउने, लागु गराउन प्रयाप्त समय र वातावरण हुनुपर्ने उनको धारणा छ । बिहानदेखि साँझसम्म नेता र कार्यकर्ता भेट्दै समय बितेपछि कतिबेला अरू कुरा सोच्ने ? भन्ने प्रश्न उनको छ । सभासदहरू आफ्ना कार्यक्रताको सरुवा गराउन फाइल बोकेर सचिवको च्याम्बरमा आउने प्रवृति नहटेसम्म सचिवले काम गर्न नसक्ने उनले अनुभव संगालेका छन् । भन्छन, ‘भारतको स्वास्थ्य सचिवको च्याम्बर सुनसान हुन्छ । उनीहरू स्वतन्त्र र दवावरहित वातावरणमा सिर्जनशील काम गर्छन । परिणाम जनताको पक्षमा आउँछ । हाम्रो यहाँ ठिक उल्टो छ ।’ सभासदहरूका समस्या सुन्न संसदमै हरेक मन्त्रालयका अधिकारी तोकिनुपर्ने उनी सुझाव दिन्छन् । कति सभासद त कर्मचारीबाट पैसा खाएर सरुवा गराउन फाइल बोक्दै थर्काउन समेत आउने गरेको उनले भोगेकाछन् ।
‘सचिवले पनि नियमले मिल्ने काम मात्र गर्नुपर्छ । थर्काउदैमा थर्कनु हुन्न’ उनी भन्छन्,‘ राज्यको बजेट सक्दै थुप्रैै नेता उपचारका लागि बिदेश जाने प्रवृति बेढेको छ । यो प्रचलन रोकिनु पर्छ ।’ उनी नेपालमै संभव नभएको उपचारका लागि मात्र जानुपर्ने पक्षमा छन् । दात र आँखाको उपचार राष्ट्रपति डा. रामवरण यादवको नेपालमै भएको, स्वर्गीय कृष्णप्रसाद भट्टराईको उपचार नेपालमै भएको, साहना प्रधानको उपचार नेपालमै भएको उदाहरण दिदै मिश्र भन्छन, ‘यहाँ सम्भव नभएको उपचारका लागि मात्रै जानुपर्छ ।’ सरकारी सेवाबाट ५१ वर्षकै उमेरमा रिटायर्ड भएपनि डा. मिश्र ‘टायर्ड’ भने पटक्कै छैनन । उनको काम गर्ने उत्साह र जाँगरमा कत्ति कमी आएको छैन । अर्थोडोन्टिक क्लिनिकमा व्यस्त उनले सचिव भएर नेपालको स्वस्थ्य क्षेत्रका समस्या बुझेका छन् । कमजोरी थाहा पाएका छन । समाधानका उपाय देखेका छन् । देश विकासका लागि सबैभन्दा पहिले राजनीति सुध्रनु पर्ने उनको मत छ ।
Leave a Reply