हेल्थ टुडे,
पोखरा,२९ फागुनः विद्यार्थी आन्दोलन र कलेज सञ्चालकहरुको गैरजिम्मेवारीपनका कारण ४२ दिनदेखि पोखराको गण्डकी मेडिकल कलेजको पठनपाठन ठप्प भएको छ । शुल्कका नाममा गैरकानुनी रकम संकलन गरिएको भन्दै एमबिबिएसका विद्यार्थी आन्दोलनमा उत्रिएपछि र कलेज सञ्चालकहरुले विद्यार्थीले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएपछि गण्डकी मेडिकल कलेज ४२ दिनदेखि बन्द भएको हो ।
१६ माघदेखि सुरु विद्यार्थी आन्दोलन अदालती मुद्दा बनेर जिल्लादेखि उच्च अदालतसम्म पुगेको छ । तर, डाक्टर बन्ने सपना बोकेका ७०० विद्यार्थीको भविष्यमाथि अन्योल कायमै छ । सन् २०१५, २०१७, २०१८ ब्याचका एमबिबिएस विद्यार्थी आन्दोलनमा छन् । पाँचवर्षे कोर्समा कलेजले शीर्षक र बिलविना अतिरिक्त शुल्क भन्दै ८ देखि १५ लाखसम्म बढी असुलेको उनीहरूको गुनासो छ ।
वार्षिक तोकिएभन्दा डेढदेखि तीन लाखसम्म बढी तिर्नुपरेको उनीहरू बताउँछन् । आफूहरूले तिरेको सम्पूर्ण रकमको बिल तत्काल उपलब्ध गराउनुपर्ने, अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, सरकारले तोकेअनुसार शुल्क लिनुपर्ने र शुल्क लिएको विषयलाई लिएर परीक्षामा सामेल हुन तथा परीक्षाफल हेर्न रोक लगाउन नपाउने चारसूत्रीय माग उनीहरूको छ ।
२०१६ ब्याचका विद्यार्थीले आन्दोलनलाई सहयोग गरेका छन् । कलेज प्रशासन आफ्नो कमजोरी स्विकार्न तयार छैन । त्यसैले कलेज मात्रै होइन, अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द छन् । प्रशासनले १२ फागुनमा हस्तक्षेप गरेर अस्पताल खुलाएको थियो । तर, दुई दिन पनि टिकेन । दैनिक एक हजार बिरामीले सेवा लिने गण्डकी मेडिकल कलेज सुनसान छ ।
Leave a Reply