हेल्थ टुडे,
विराटनगर,१३ साउनः मोरङ जिल्लाको बेलबारी नगरपालिकाले डेंगुको निःशुल्क परीक्षण गर्न सुरु गरेको छ । नीजी स्वास्थ्य संस्थाले महँगो शुल्क लिएको आमगुनासो बढेपछि नगरपालिकाले आईतबारदेखि परीक्षण निःशुल्क गरेको हो । बेलबारी–१ को बेलबारी, ९ को डाँगीहाट र ७ को बाहुनी स्वास्थ्य चौकीमा आइतबारदेखि डेंगु परीक्षणको कुनै पनि शुल्क नलाग्ने नगरपालिकाले जानकारी दिएको छ ।
संक्रमण फैलन नदिन गाउँ–गाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीले विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै नगरवासीलाई जागरुक गराउने काम पनि गरिरहेको छ । नगरपालिकाले डेंगुको लार्भा खोजी तथा नष्ट गर्ने, औषधि छर्कनेदेखि विभिन्न सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।
प्रदेश १ सरकारले जुनसुकै स्वास्थ्य संस्थाले पनि डेंगु परीक्षणमा ६ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने नियम लगाएको छ । तर, नीजी स्वास्थ्य संस्थाले डेंगु परीक्षण गर्दा एक हजार पाँच सय रुपैयाँभन्दा बढी शुल्क लिने गरेको पीडितले गुनासो गरेका छन्। किट महँगो पर्नेभन्दै सरकारी स्वास्थ्य संस्थाले पनि प्रतिसंक्रमित ६ सय रुपैयाँसम्म लिने गरेका छन्।
प्रदेश १ का सुनसरी, मोरङ र झापामा डेंगुको संक्रमण दिनप्रति दिन बढ्दै गईरहेको छ । मोरङमा अहिलेसम्म ६८ जनामा डेंगुको संक्रमण फेला परेको छ।
Leave a Reply