जमुना सिटौला
नेपालको संवैधानिक कानुनले कुनै पनि महिलामाथि हुने शारीरिक, मानसिक तथा अन्य जुनसुकै प्रकारका हिंसा दण्डनीय हुन्छ भनेर महिलाहरूको अधिकारलाई सुनिश्चित गरेको छ । यद्यपि, प्रजनन अधिकारको कुरा गर्दा जुनसकै पेसामा संलग्नलगायत सबै महिलाले यसको निर्वाधरूपमा उपभोग गर्न पाएका छन् कि छैनन्, यदि छैनन् भने ती महिलावर्गको पहिचान गरी पैरवीका प्रयासहरू गरिनुपर्दछ । नेपालको सन्दर्भमा यौनकर्मी महिला र उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार कहिल्यै पनि कसैको चासोको विषय बन्न सकेन । अव्यवस्थित र छरपस्ट ढंगले समाजमा दु्रतगतिमा पैmलिररहेको यो यौन व्यवसायसँगै यसको असर समाजका अन्य वर्गमा पनि पर्न जाने र त्यसबाट नसोचिएका समस्याहरू थपिँदै जाने जोखिम दिन प्रतिदिन बढिरहेको छ । नेपालमा यौनकर्मीहरूको संख्या कति छ भन्ने भरपर्दो र आधिकारिक तथ्यांक छैन । तर विभिन्न सरोकारी संस्थाहरूले गरेका अध्ययनका आधारमा नेपालमा यौनकर्मीहरूको संख्या २५ देखि ३० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । नेपालमा यौन व्यवसायलाई हेयको दृष्टिले हेर्ने र यसमा संलग्नलाई विभिन्न तवरले लाञ्छित गर्ने र बहिष्करणमा समेत पार्ने कारणले यस्तो कर्म कानुन र समाजलाई छलेर गरिने हुँदा यौनकर्मीहरूको संख्या योभन्दा निकै बढी हुन सक्ने अनुमान गरिएको छ ।
नेपाल पनि बढ्दो सहरीकरणको असरबाट अछूतो छैन, धमाधम नयाँ–नयाँ सहरहरू सिर्जना हुने र थुप्रै पुराना गाउँहरू नवनगरमा परिणत हुने क्रमसँगसँगै यौनकर्मीहरू पनि विभिन्न नगरहरूमा अव्यवस्थित तवरले छरिने क्रम तीव्र गतिमा बढिरहेको छ । अध्ययनअनुसार काठमाडौंमा ८० प्रतिशत र पोखरामा ५० प्रतिशत यौनकर्मी बाहिरी तथा वरिपरिका जिल्लाबाट आएकाहरू छन् । यौनकर्मीहरूमा एच.आई.भी. संक्रमणको सम्भावना अन्य मानिसका तुलनामा १२ गुणा बढी हुने तथ्यहरूले देखाएका छन् । अधिकांश विवाहित र अशिक्षित छन् र ज्यादै थोरैलाई मात्र यौन संक्रमण÷एच.आई.भी. संक्रमणबारे ज्ञान भएको अध्ययनले जनाएको छ । यसरी यौनकर्मीहरूको अनियन्त्रित बसाइँसराइसँगसँगै उनीहरूको असुरक्षित व्यवहारले एच.आई.भी.लगायत विभिन्न यौनजन्य संक्रमणहरूको जोखिम अत्यधिक रहेको देखिन्छ ।
गरिबी, बेरोजगारी, एकलजीवन, सम्बन्धविच्छेद, बसाइँसराइ तथा जीवननिर्वाहका वैकल्पिक उपायहरू नहुनु जस्ता सामाजिक संरचनागत समस्या नै महिलालाई यौन पेसामा धकेल्ने प्रमुख कारण हुन् । यद्यपि ७९ प्रतिशत यौनकर्मीहरूले अन्य रोजगारी पनि गरिरहेको तर पनि यौन पेसा नछोडेको देखिन्छ । यसको कारण ती वैकल्पिक रोजगारीले मात्र उनीहरूको गुजारा चल्न नसकेको अनुमान गर्न सकिन्छ । तसर्थ, समाजमा यौनकर्मीहरूको संख्या घट्नुको सट्टा दिनप्रतिदिन बढिरहेको छ र पर्याप्तरूपमा रोजगारीमा भरपर्दा विकल्पहरू सिर्जना नभएसम्म आउँदा दिनहरूमा झन् बढिरहने देखिन्छ ।
नेपालमा यौन व्यवसाय कानुनी र सामाजिक दुवै रूपमा दण्डनीय छ । परिवार नियोजनका अस्थायी साधनहरू साथमा लिएर हिँडेकै आधारमा त्यसलाई अनैतिक मान्दै प्रहरी प्रशासनबाट नै यौनकर्मीहरूमाथि भेदभाव, बहिष्कार, घृणा र अपमानित गर्ने कार्य भइरहेको अध्ययन अनुसन्धानले देखाएको छ । तर यौन व्यवसायीलाई दण्डित र बहिष्कृत गरेर यो व्यवसायलाई नियन्त्रण गर्ने आजसम्मका हाम्रा कानुनी, प्रशासनिक र सामाजिक प्रयासहरू असफल भएको देखिन्छ । अर्कोतर्फ नेपाल सरकारले सबै व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलगायत लैंगिक समानताको सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको सर्वोच्च अदालतले समेत महिला यौनकर्मीहरूको मानवअधिकारलाई सुनिश्चित गरेको छ, तर अधिकांश महिला यौनकर्मी र सरोकारवालाहरू यसबारे जानकार छैनन्् ।
अतः यो विद्यमान सामाजिक यथार्थलाई मनन् गर्दै परम्परागत दृष्टिकोण राखेर वा कानुनको डन्डा चलाएरमात्र यसलाई रोक्न सकिन्छ भन्ने मान्यताबाट अलिकति हटेर यस व्यवसायलाई राज्यस्तरबाटै व्यवस्थित गर्न अब ढिलो भइसकेको छ । यौनकर्मी महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण गर्न राज्यका तर्फबाट अब यसको नीतिगत व्यवस्थापन गर्नु आजको प्राथमिक आवश्यकता भएको छ । अतः फैलिँदै गएको यौन संक्रमण तथा एच.आई.भी.रएड्सको व्यवस्थापनका लागि र हरेक व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता व्यवहारमै हुने गरी राज्यबाटै यौन व्यवसायलाई व्यवस्थापन गर्न नीतिगत निर्णय यथाशक्य चाँडो गरेर हरेक पेसामा संलग्न व्यक्ति र वर्गको स्वास्थ्य र अधिकारको सम्बोधन गरिनु पर्दछ ।
जमुना सिटौला परिवार नियोजनसंघकी वरिष्ठ एडभोकेसी अफिसर हुन । )
Leave a Reply