• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

दूध यसरी बन्दैछ अमृतवाट विष

February 10th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दूध यसरी बन्दैछ अमृतवाट विष

केपी लम्साल,

‘नेपालका दुग्ध उद्योगहरूले प्रशोधन गरेर बेच्ने दूधमा काष्टिक सोडा नमिसाएको कसैले प्रमाणित गर्न सक्छ भने म मेरो पेसाबाट संन्यास लिन तयार छु’

एक प्रतिष्ठित डेरी उद्योगमा गुणस्तर नियन्त्रकको रूपमा कार्यरत एक खाद्य प्राविधिज्ञले यसरी दाबी गर्दै गर्दा अमृत सरहको दूधलाई कसरी विष बनाएर पिलाइँदैछ भन्ने देखेर मन साह्रै अमिलो भएर आयो । आधुनिकतासँगै मान्छेको बढ्दो व्यस्तताले सबैले आफैं गाई, भैंसी पालेर आफ्नै गोठमा दूध दोएर पिउन सम्भव छैन । सबैसम्म खाद्य पहुँच पु¥याउन खुलेका खाद्य प्रशोधन उद्योगहरू म्ुालुकको अर्थतन्त्रसँग पनि जोडिएका हुन्छन् । तर केवल व्यापारिक प्रयोजनका लागि मात्र खाद्य तथा पेय व्यवसाय चलाउने हो भने अर्थतन्त्रमा योगदान त देला अर्कोतिर औषधि उद्योग र अस्पतालहरू पनि मज्जैले चल्नेछन् । केही समय अगाडि दुग्ध उत्पादनमा दिसामा पाइने कोलिफर्म नामक जीवाणु पाइएको कुराले निक्कै प्राथमिकता पाएको थियो । तर क्षणिक प्रचार पाएको कोलिफर्मको समाचार आजकल कहीँ कतै चर्चा भएको पाइँदैन । मौसमी अनुगमनलाई प्रचारमा ल्याई फेरि निरन्तरता नदिँदा खाद्य बजार झन् अनियन्त्रित र अस्वच्छ बन्दैछ । च्याउसरि खुलेका डेरी उद्योगहरूको सञ्चालन शैली हेर्दा अहिले बजारमा आउने दूध कोलिफर्म, पशु औषधि र काष्टिक सोडाले भरिएको सहजै अनुमान लगाउन सकिन्छ ।

कृषि प्रधान मुलुक नेपालमा पशुपालनमा आएको आधुनिकीकरण सँगै दूध र दुग्धजन्य पदार्थको उत्पादनमा आत्मनिर्भरताको बाटोमा गइरहेको अवस्थामा अनियन्त्रित र अवैज्ञानिक तवरले खुलेका दुग्ध उद्योगहरूले अमृत सरहको दूधलाई विष बनाएर पिलाउँदैछन् । अन्य खाद्य उत्पादनभन्दा राम्रो आर्थिक मुनाफा कमाउन सकिने सपना देखेर आवश्यक प्रक्रियासमेत नपु¥याई खोलिएका डेरीको गुणस्तरमा प्रश्न उठिरहेका छन् । केही डेरीले खाद्य अनुमतिपत्रसमेत नलिई अवैध रूपमा सञ्चालन गरेको पनि पाइन्छ । दूध तथा दुग्धजन्य पदार्थमा अखाद्य पदार्थ मिसावट गरेर बिक्रीवितरण गरिएको घटना हरेक दिन बढ्दो छ । अमृत सरहको दूधमा विभिन्न अखाद्य पदार्थ हालेर बिना वैज्ञानिक प्रशोधन, लापरबाही किसिमले बिक्री गर्दै जाने हो भने यसको फाइदाहरू बेफाइदामा बदलिनेछन्,  अमृत सरहको दूध विष बन्नेछ, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेसँगै दूधप्रति उपभोक्ताको सकारात्मक दृष्टिकोण गुम्न थाल्नेछ, दुग्ध उद्योगहरू संकटमा पर्नेछन् र अन्ततः राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्नेछ । अतः यो संकट आउन नदिन आजकै अवस्थामा समस्या समाधानतिर लाग्न जरुरी छ ।

दूध स्तनधारी जीवको जीवनको सुरुवाती आधार हो । शुद्ध दूध पोषणका दृष्टिकोणले धेरै फाइदाकर छ । यूएसडीएका अनुसार गाई र भैंसीको दूधमा क्रमशः पानीको मात्रा ८८ र ८४ प्रतिशत, चिल्लो पदार्थको मात्रा करिब ३–४ र करिव ६ प्रतिशत, प्रोटिनको मात्रा ३.२२ र ३.७५ प्रतिशत, कार्बोहाइडेट ४.४३ र ५.१२, खरानीको मात्रा ०.६९ र ०.७९, इनर्जी प्रति १०० ग्राम करिब ६० र ९७ पाइन्छ । दूध भिटामिनको पनि राम्रो स्रोत हो । दूधमा भिटामिन ए, थाएमिन, राइबाफ्लाभिन, भिटामिन बी३, बी५, बी६, बी१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई र भिटामिन के पनि पाइन्छ । तर यी सबै पोषकतत्वको मात्रा प्रजातिअनुसार फरक हुन्छ । दूधमा खनिज पनि पाइन्छ । दूधमा पाइने मुख्य खनिजमा  क्याल्सियम, कपर, फलाम, म्याग्नेसियम, म्याग्निज, फस्फोरस, पोटासियम, सोडियम, जिंक आदि प्रमुख हुन् । चिल्लो पदार्थमा गाईको र भैंसीको दूधमा क्रमश कोलेस्टेरोल प्रतिसय ग्राम करिब १० मिलिग्राम र १९ मिलिग्राम, स्याचुरेटेड फ्याटी अम्ल प्रति १०० ग्राम क्रमश १.८६५ ग्राम र ४.५९७ ग्राम, अनस्याचुरेटेड फ्याटी अम्लप्रति १०० ग्राम क्रमश ०.८१ र १.७८७ हुन्छ । त्यस्तै एलानिन, आर्जिनिन, एस्पार्टिक अम्ल, सिस्टिन, ग्लुटामिक अम्ल, ग्लायसिन, हिस्टिडिन, लुसिन आइसोलुसिन, मिथियानिन, फिनाइल एलानिनजस्ता प्रोटिनको प्रमुख स्रोत दूध नै हो । नेपालको खाद्य ऐन अनुसार दूधमा चिल्लो पदार्थको मात्रा कम्तीमा ३ प्रतिशत हुनुपर्दछ भने ठोस पदार्थको मात्रा ८ प्रतिशत नघटेको हुनुपर्दछ । दूधमा ठोसको मात्रा घट्नु भनेको अत्यधिक मात्रामा पानी मिसाएको संकेत हो ।

दूधलाई बाक्लो र नफाट्ने बनाउन सोडा मिसाइएको फेला परेको घटना विगतमा  पनि पटकपटक सार्वजनिक भए पनि  त्यस्तो काममा संलग्न हुनेहरू विरुद्ध कुनै कारबाही भएको छैन । खाद्य ऐनअनुसार त्यसरी दूधमा सोडा मिसाउनु अपराध हो । केही उत्पादकहरू सफाइका क्रममा काष्टिक सोडाको अवशेष रहने तर्क गरे पनि वैज्ञानिक तवरले गरिने सफाइ (जसलाई सीआईपी पनि भनिन्छ ) बाट त्यति धेरै दूधै अखाद्य हुने गरी सोडा अवशेष रहनै सक्दैन । यो त दूध नफाटोस् भन्नाका खातिर संकलन केन्द्र वा प्रशोधन केन्द्रमा नियोजित रूपले मिसाइएको हो । यसरी काष्टिक सोडा मिसाइएको दूध पिउँदा रक्त क्यान्सरजस्ता प्राणघातक रोगहरू लाग्न सक्छन् । केही डेरीहरूले बजारबाट फिर्ता भएका दूध पुनः प्रशोधन गरी बेच्ने गरेको समाचार पनि नआएका हैनन् । साना डेरीका दूध प्रशोधन गर्ने भान्सा पनि अति दूषित र फोहोरैफोहोर भएको पाइन्छ । विभिन्न अनुगमनका क्रममा बजारमा पठाउन तयारी अवस्थामा राखिएको दूधमा लेबल नभएको पनि पाइएको सुनिन्छ ।  अनुगमन गर्दा दहीमा मुसाको लिडसमेत फेला परेको समाचार आउँछ  । तर उपभोग्य वस्तुमा यस्तो गम्भीर अपराध गर्नेलाई कारबाही भएको समाचार खासै देखिँदैन । आम उपभोक्ता अनुगमनमा निरन्तरता र अपराधीलाई कारबाही भएको समाचार सुन्न चाहन्छन्, स्वच्छ बजार स्थापित भएको हेर्न चाहन्छन् ।

दूध जसरी मान्छेका लागि पोषकयुक्त छ त्यसरी नै सूष्म जीव (ब्याक्टेरिया) का लागि पनि छ । अतः यस्ता उच्च पोषक तत्व भएका खानेकुरामा सूष्म जीवको संक्रमण एकदमै छिटो हुन्छ । त्यसैले त्यस्ता हानिकारक सूष्म जीवलाई मार्न वा निष्प्रभावी बनाउन पास्चराइजेसन गर्ने गरिन्छ ।  पास्चराइजेसन निश्चित समयको सीमामा दूधलाई तोकिएको तापक्रममा तताउने क्रिया हो । दूधमा करिब ७३ डिग्री सेल्सियस तापक्रममा १५ सेकेन्डसम्म राख्नुपर्छ । अर्को तरिकामा दूधमा तापक्रम १३० डिग्री सेल्सियस पु¥याएर फेरि पाँच डिग्री सेल्सियससम्म झार्नुपर्छ । पास्चराइजेसनले मात्र सबै सूष्म जीव नष्ट नहुन सक्छन् । अतः तिनीहरूलाई प्रवाहहीन बनाउन दूधलाई रेफ्रिजेरेसन गरेर राख्नुपर्दछ । त्यसो गर्दा हानिकारक सूष्म जीवलाई निष्प्रभावी बनाउन सकिन्छ । साथसाथै दूधलाई प्याकेजिङ गर्ने वस्तु पनि स्टेराइल हुनु जरुरी छ र दूध प्रशोधन गर्ने स्थल पनि सूष्म जीवको संक्रमणभन्दा बाहिर हुनुपर्दछ । दूधमा कोलिफर्मको समस्या यी प्रक्रिया पूरा नगरेकै कारण आएका हुन् । कोलिफर्महरू ग्राम नेगेटिभ वर्गमा पर्ने, स्पोर नबनाउने, रड आकारका ब्याक्टेरियाहरू हुन् । यिनीहरू एकदमै छिटो सन्तान उत्पादन गर्न सक्ने क्षमता राख्दछन् । दूधमा पाइने पोषण विशेष गरी ल्याक्टोजलाई फर्मेन्टेसन गराएर अम्ल र ग्यासका साथै हानिकारक रसायन पनि उत्पादन गर्न सक्ने यी जीवाणु अक्सिजनको अभावमा पनि बाँच्न सक्छन् । कोलिफर्मलाई दूधमा पाइने सूष्म जीवको सूचक जीवाणुको रूपमा लिइन्छ । यी जीवाणु पाइनुको अर्थ त्यहाँ हानिकारक प्याथोजेनहरू हुन सक्छन् भन्ने हो । कोलिफर्म भएको दूध सेवन गर्दा झाडापखाला, आउ पर्ने, ज्वरो, टाइफाइड, जन्डिस, हेपाटाइटिसलगायत पेटसँग सम्बन्धित रोगहरू लाग्ने खतरा हुन्छ । यसको असर बालबालिका वृद्ध र अशक्तमा अझ बढी पर्छ । फिकल इकोलाई त्यस्तै एउटा ब्याक्टेरिया हो जसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यो ब्याक्टेरिया दूध, पानीजस्ता अत्यावश्यक पेय पदार्थमा पाइन्छ । काठमाडौंलगायतका सहरमा वितरण गरिने पानी परीक्षण गर्ने हो भने यो ब्याक्टेरियाको सघन उपस्थिति पाउने सहजै अनुमान लगाउन सकिन्छ ।

डेरी उद्योगहरूको हेलचेक्र्याइ र प्राविधिक त्रुटिका वा अन्य जे जस्तो कारणले भए पनि दूधजस्तो दैनिक उपभोग्य वस्तुमा अखाद्य हानिकारक काष्टिक सोडा मिसाउनु वा जीवाणु भेटिनु सिधा  मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड हो ।  दूधमा पाइने प्राकृतिक पदार्थबाहेक अरू पाइनु नै खाद्य ऐनअनुसार ठगी हो । आम जनजीवनलाई जोखिममा पार्ने गम्भीर अपराध गरेका उत्पादकहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । बेलाबेलामा गरिने  उपभोग्य वस्तुहरूको गुणस्तर र मूल्यको अनुगमनले क्षणिक सकारात्मक संकेत छाडे पनि नियमित अनुगमनको अभावमा प्रभावकारिता क्षणिक देखावटीपनमा टुंगिरहेको छ । केही समयका लागि व्यवसायी र उपभोक्ता हच्क्याउनका लागि मात्र हैन नियमित अनुगमन र अपराधीलाई कारबाही गर्न जरुरी छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग प्रशस्त जनशक्ति नभएको सुनिन्छ । अन्य अनुत्पादक क्षेत्रमा अनावश्यक कर्मचारी थुपार्ने सरकारले खाद्यान्न जस्तो संवेदनशील क्षेत्रमा आवश्यक जनशक्ति थप्न जरुरी छ । दूधमा मात्र हैन बजारमा अन्य खाद्यपदार्थमा पनि अखाद्यवस्तु छ्यापछ्याप्ती भेटिन्छन् । व्यवसायीहरूले बिना मापदण्ड उपभोक्तासँग नचाहिँदो मूल्य असुलिरहेका हुन्छन् । बेलाबखत गरिने मौसमी अनुगमन र कारबाहीले गलत नियत राख्ने व्यवसायीलाई क्षणिक रूपमा मात्रै निरुत्साहित गर्न सकेको छ । अहिले डेरी उद्योगहरूको सञ्चालन शैली र पूर्वाधार हेर्दा भोलि झन् ठूलो खतरा निम्तिने निश्चित छ । उपभोक्ताको स्वास्थ्यमै धावा बोल्ने खाद्य तथा पेयपदार्थमा गुणस्तर कायम राख्न र अपराधीलाई कारबाही गर्न कुनै जोखाना हेरिरहनु आवश्यक छैन । सरकारी निकायहरू सक्रिय नहुनुको प्रमुख कारण तलब भत्ता पकाउनका लागि मात्र कार्यालय जाने र सर्वसाधारणप्रति उत्तरदायी नहुनाले हो । अतः जनताकै करको आधारमा तलब खाएर जनताका लागि काम गर्न खटाइएका सरकारी कर्मचारीहरूले जागिर खानका लागि मात्र हैन जनसाधारणको पक्षमा काम गर्न खटिनुपर्दछ र त्यसमा उपभोक्ताहरूले सहयोग गर्नु पर्दछ ।

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article श्रीमती यौनसम्पर्कवाट सन्तुष्ट भएको कसरी थाहा पाउने ?
Next article निद्रा लाग्दैन भने यसो गर्नुहोस्  

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133308
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

44
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web