हेल्थ टुडे,
काठमाडौं, २४ जेठः संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्दैनन् । यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । यस्ता कैयौं अनुसन्धानहरु भएका छन् जसले कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएको छ ।
त्यसैगरि साथीहरु भेट भएर कफी सपमा घन्टौं कफी पिउँदै गफगाफ गर्ने चलन आजकाल ठूला शहरमा मात्रै होइन साना शहरमा पनि सुरु भएको छ । कफीको यस्ता सामाजिक मेलमिलापका फाइदाको बारेमा हामी सबै जानकार छौं । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ ? यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ ।
दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।
त्यस्तै कफीको साथमा तपाईले कुनै पनि हेभी स्न्याक्स खाएमा भने त्यसले तपाईले कफीबाट पाउने फाइदालाई कम गर्छ ।
हालसालै गरिएको एक अध्ययन अनुसार कफीका हरेक कप कफीले तपाईलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ ।
कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ ।
कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा भने कफीले कति राम्रो गर्छ भन्ने चैं अहिलेनै पक्का रुपमा भन्न सकिँदैन् ।
यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयो बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।
यस आधारमा भन्न सकिन्छ, कफीले तपाईलाई काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसले तपाईलाई स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा गर्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन । नियमित रुपमा कफिको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।
एजेन्सी
Leave a Reply