हेल्थ टुडे,
काठमाडौं, १७ असोज: मनोरोग उपचार तथा पुनस्थापना केन्द्र र प्रथम पाइलाले विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर मानसिक स्वास्थ्यका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।
शुक्रबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मानसिक स्वास्थ्यका विभिन्न क्षेत्रमा आआफ्नो स्थानबाट योगदान गरेका व्यक्ति र संस्थाहरुलाई सम्मान गरेकी हुन् । सम्मानित हुनेमा हेल्थ टुडेका सम्पादक पदमराज जोशी सहित स्वास्थ्य पत्रकारहरु हाम्रो डक्टर न्यूज डटकमका सम्पादक उद्धवराज भेटुवाल र इमेल टेलिभिजनकी स्वास्थ्य पत्रकार प्रज्ञा तिमिल्सिना छन् । त्यसैगरि विश्व स्वास्थ्य संगठनमा कार्यरत मनोचिकित्सक डा. केदार मरहट्टा, मनोचिकित्सक डा. पुष्पप्रसाद शर्मा, समाजसेवी मित्रसेन दाहाल, अधिवक्ता स्वागत नेपाल र मेरिनाल नेपाल पुनस्थापना केन्द्र लगायत छन् ।
कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थापाले हाम्रो समाजमा अहिलेसम्म पनि महिलालाई बस्तुको रुपमा हेर्ने र त्यही अनुसार व्यवहार गर्ने मानसिकता र चिन्तन हावी भएकाले अहिले पनि उच्च तहका व्यक्तिबाट समेत महिलाले हिंसा बेहोर्नु परेको बताइन । समाजले मानसिक समस्या भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको बताउदै यो क्षेत्रमा कार्यरत व्यक्तिहरुको योगदानलाई सरकारले कदर गर्ने बताइन । कार्यक्रममा पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले सञ्चारमाध्यमहरुले मदिराको विज्ञापन रोक्नु पर्नेमा जोड दिदै मदिराका विज्ञापनले यसको प्रयोगमा वृदि भएर महिला हिंसा बढी रहेको दावी गरे ।
सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका मनोविद् गोपाल ढकालले मानसिक स्वास्थ्य सबैको सरोकार भएकाले सबैको सहकार्यमा यसको समाधान खोज्न सकिने बताए । उनले भने, स्वास्थ्य मन्त्रालयले मात्र मानसिक स्वास्थ्यको समाधान गर्न सक्दैन । यसमा हामी सबैको सहकार्य आवश्यक छ । ’ प्रथम पाइलाका सम्पादक डा.दिनेश वास्तोलाले पहिलेको तुलनामा मानसिक स्वास्थ्यका क्षेत्रमा केही सकारात्मक काम भइरहेको भए पनि प्रयाप्त नभएको बताए ।
Leave a Reply