हेल्थ टुडे,
काठमाडौं, १९ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको संक्रमण रोकथाम र उपचारका लागि प्रयोग हुने स्वास्थ्य सामग्री किन्ने ओम्निटेकसँगको सम्झौता रद्द गरेको छ । स्वास्थ्य सेवा विभागले गत हप्ता बिना प्रतिस्पर्धा ओम्निटेकसँग एक अर्ब २४ करोड बराबरको पीपीई, थर्मामिटर, टेष्ट किट्स लगायतका स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो । वाणिज्य विभागमा दर्ता नै नभएको, बजार मूल्यभन्दा अत्यधिक मूल्य तिर्नु पर्ने र सम्झौता गर्दा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको मिलेमतोमा करोडौ रुपैयाको चलखेल भएको कुरा सार्वजनिक भएपछि त्यसको व्यापक विरोध भएपछि चीनबाट खरिद गर्ने भनिएको उक्त सम्झौता रद्द गरेको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले नियमित पत्रकार सम्मेलनमा आज ओम्नीटेक समुहले तोकिएको समयमा सम्झौता बमोजिमको सामग्री ल्याउन नसकेको भन्दै धरौटी राखेको रकम जफत गर्ने र कालोसूचिमा राख्ने निर्णय भएको भन्दै सम्झौता रद्द भएको बताए । विभागले आइसकेका सामानहरुको गुणस्तर हेरेर मात्र भुक्तानी दिने बताएको छ । महानिर्देशक श्रेष्ठले चीनबाट आईतबार पहिलो लटमा सम्झौताको १८ प्रतिसत स्वास्थ्य सामग्री आएको बताएका छन ।
देश कोरोनाको संकटमा जुधिरहेको बेलामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, सचिव यादव कोइराला, मनत्रीका विज्ञ सल्लाहकार डा. खेम कार्की, महानिर्देशक श्रेष्ठ सहितका केहि व्यक्तिलाई कमाउने समय जुरेको भन्दै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको व्यापक आलोचना भएको थियो । मन्त्री ढकाललाई राजिनामाको चर्को दवाव परेपनि ठेक्का रद्द गरेर बीचको बाटो निकाल्ने प्रयास भएकोले सम्झौता रद्द गरिएको स्रोतले जनाएको छ । पुरानो सम्झौता रद्द भएपछि भोलीबाट ३ दिनको समय दिएर स्वास्थ्य उपकरण आपूर्तिका लागि सप्लायर्सहरुलाई आव्हान गर्ने महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
दबाबपछि विना प्रतिस्पर्धा महंगोमा स्वास्थ्य सामग्री किन्ने सवा अर्बको सम्झौता रद्द गर्न स्वास्थ्य मन्त्रालय बाध्य

Leave a Reply