हेल्थ टुडे,
काठमाडौं, ११ माघ : चाडै लागु हुन लागेको मुलुकी ऐनको विवाह सम्बन्धी कानूनमा कुष्ठरोगीलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार हनन् गरेको भन्दै उक्त कानूनी व्यवस्था बदर हुनु पर्ने सरोकारवालाले माग गरेका छन् । ६५ औं कुष्ठरोग दिवसको अवसर पारेर आनन्द वन लेप्रोसी हस्पिटलले बिहीबार ललितपुरको लेलेमा आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाले विवाह सम्बन्धी कानूनमा संसोधन नगरिए त्यस विरुद्व सर्वोच्च जाने चेतावनी दिएका हुन ।
संसदले पारित गरेर केही समयपछि लागु हुन गइरहेको मुलुकी ऐन भाग ३ पारिवारिक कानून परिच्छेद १ विवाह सम्बन्धी व्यवस्थाको धारा ७१ म विवाह गर्न, गराउन नपाउने उपधारा अन्तरगत झुक्याएर विवाह गरेको अवस्थामा कुष्ठरोगी भएको थाहा पाएपछि पहिले गरेको विवाह बदर हुने वाक्यांश रािखएको छ । कानून व्यवसायी रमेश पराजुलीले यस किसिमको कानूनी प्रावधानले कुष्ठरोगी र कुष्ठप्रभावितको सम्मानपूर्वक बाच्न पाउने संबैधानिक अधिकारको हनन् भएको र उनीहरुप्रति भेदभाव हुने भएकाले यस किसिमको कानूनी प्रावधान खारेज गरिनु पर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘ यो संसदले गरेको लापरवाही हो । यसलाई सच्याउनु पर्छ । ’ कानून बनाउने मुख्य थलो संसद भए पनि संसद सदस्यहरुले कानून बनाउने बेला विज्ञहरुको सल्लाह नलिने चलनका कारण संसदले बनाएका कयौ कानून व्यवहारिक हुन नसकिरहेको पौडेलले बताए । उनले अब बन्ने संसद समक्ष यो गल्ती सच्याउन आग्रह गरिने र त्यति गर्दा समेत नसच्याए सर्वोच्चमा रिट दायर गरेर न्याय खोजिने चेतावनी दिए । दी ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कडेलले यस बिषयमा बिगतको संसदका सदस्यहरुलाई जानकारी गराएको दावी गर्दै उहाँहरुले कानून बनाउने बेला वास्ता नगरेको बताए ।
आनन्द वन लेप्रोसी अस्पतालका मेडिकल डाइरेक्टर डा. इन्द्र नापितले यस किसिमका भेदभावपूर्ण कानून हटाउनु पर्नेमा पथ्ने काम गर्नु चरम लापरवाही भएकोले यसलाई नसच्याए कुष्ठरोगी र प्रभावितको सम्मानपूर्वक बाच्न पाउने अधिकार कुण्ठित हुने बताए । दी लेप्रोसी मिसनका तालिम प्रमुख गोपाल पोखरेलले संसदका पूर्व सदस्यहरुबिच वृहत छलफल हुदा समेत भेदभावपूर्ण वाक्यांश राखिनु दुखद भएको स्मरण गर्दै सच्याउनु पर्ने बताए । कार्यक्रममा नेपालबाट सन् २०१० मा नै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि कुष्ठरोगीको संख्या घट्दै जानुको सट्टा बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । कुष्ठरोग निवारण घोषणा गर्ने बेला प्रति १० हजार जनसंख्या बराबर ७७ जनामा कुष्ठरोगी थिए भने अहिले त्यो संख्या बढेर ९२ पुगेको छ । नेपालमा हरेक वर्ष करिव ३ हजार नयाँ कुष्ठरोगी फेला गर्ने गरेको कुष्ठरोग नियन्त्रण महासाखाको तथ्यांक छ । गत आर्थिक वर्षमा ३ हजार २ सय १५ नयाँ कुष्ठरोगी फेला परेका थिए । कुष्ठरोगीको उपचार स्वास्थ्य संस्थाहरुमा निशुल्क हुने गरेको छ । नेपालमा अहिलेसम्म एक लाख ८० हजार जना कुष्ठरोगीको उपचार भइसकेको छ ।
Leave a Reply