हेल्थ टुडे,
चौतारा,२९ फागुनः स्वास्थ्य सामाग्रीको अभावमा सिन्धुपाल्चोक जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । एक मेडिकल सुपरिटेन्डेन्ट र दुई मेडिकल अधिकृतसहित तीन दरबन्दी रहेको जिल्ला अस्पताल चौतारामा हाल सात जना डाक्टर कार्यरत छन् । तर, स्वास्थ्य सामग्री अभावले उपचार प्रभावित हुने गरेकोे छ ।
एक्सरे मेसिन बिग्रिएको छ भने सरकारले आवश्यक औषधि समयमै नपठाउँदा बिरामीलाई धुलिखेल वा काठमाडौं रिफर गर्नुपर्ने अस्पतालको बाध्यता छ । आवश्यक सामाग्री अभावकै कारण सुत्केरी गराउँदा हुने अप्रेसनबाहेक अरू अप्रेसन सेवा अस्पतालले दिन सकेको छैन । पुराना सामग्री काम नलाग्ने भइसकेकाले अन्य रोगको अप्रेसन बन्द गरिएको त्यहाँ कार्यरत चिकित्सक बताएका छन् ।
नियमले जिल्ला अस्पताल १५ शैय्याको हो । तर, बिरामीको चाप बढी रहेकाले ३४ शैय्याको बनाइएको छ । सरकारले सर्वसाधारणलाई निःशुल्क दिने ७० प्रकारका औषधि समेत सकिन लागेका छन् । औषधि किन्न बजेट छैन । जिल्ला अस्पताललाई कुनै अख्तियारी पनि दिइएको छैन ।
निःशुल्क दिइने औषधिको बजेट नगर र गाउँपालिकालाई पठाइएकाले समस्या परेको हो । जिल्लाका १२ वटै स्थानीय तहले ढिलो गरी औषधि खरिद गर्न जिल्ला अस्पताल र स्वास्थ्यचौकीलाई बजेटको अख्तियारी पठाएका छन् । जसकारण आजसम्म औषधि खरिद प्रक्रिया अगाडि बढेको छैन ।
जिल्ला जनस्वास्थ्यका सिन्धुपाल्चोक नायब सुब्बा शंकर दाहालका अनुसार निःशुल्क पाइने कतिपय औषधि सकिएकाले बिरामीले अस्पतालको फार्मेसी र विभिन्न मेडिकलबाट किनेर सेवन गरिरहेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि निःशुल्क वितरण गरिने औषधिको अभाव छ । ती स्वास्थ्य संस्थाले सरकारले दिने ३५ मध्ये ३० औषधि निःशुल्क वितरण गर्दै आएका छन् ।
Leave a Reply